चितवनमा रविका समर्थक र प्रहरीबीच झडप हुँदा डिएसपीसहित सात प्रहरी घाइते

चितवनमा रविका समर्थक र प्रहरीबीच झडप हुँदा डिएसपीसहित सात प्रहरी घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन- शालिकराम पुडासैनी मृत्यु प्रकरणमा थुनामा रहेका रवि लामिछानेको समर्थनमा चितवन जिल्ला प्रहरी कार्यालयअगाडि आइतबार साँझ झडप भएको छ ।

झडपमा परी डिएसपी एक नारायण कोइरालासहित सात प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। लामिछानेको समर्थनमा जम्मा भएको भिडलाई तितरबितर गर्न केहीबेरअघि प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको हो।

केही प्रदर्शनकारी पनि घाइते भएको बताइएको छ। आइतबार साँझपख चौबिसकोठी क्षेत्रमा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि झडप भएको हाे। झडपका क्रममा प्रहरीले आधा दर्जन बढी अश्रुग्याससमेत प्रहार गरेको थियो।

झडप भएपछि ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ। प्रदर्शनकारीले सडकमा टायर बाल्नुका साथै केही गाडीमा तोडफोड पनि गरेका छन्। दिनभर शान्त रहेको भरतपुर साँझ परेसँगै झडपमा परिणत भएको हो। पुडासैनी आत्महत्या प्रकरणमा पुछिएका टेलिभिजन कार्यक्रम सञ्चालक रवि लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई पुनः हिरासत फर्काएपछि प्रदर्शनकारी आक्रोशित बनेका हुन्।

आइतबार बयान नसकिएपछि उनीहरू तीनैजनालाई प्रहरी हिरासतमै लगेको थियो। जिल्ला अदालतका श्रेष्तेदार रुद्रमणि गिरीका अनुसार आइतबार पुडासैनीकी प्रेमिका भनिएकी अस्मिता कार्की बयान सकिएको र बाँकी रहेका रवि र युवराज बयान भोलि बिहान १० बजेपछि लिइनेछ।