१० हजार नमूनाको निःशुल्क पिसिआर गर्दै चितवन मेडिकल कलेज

१० हजार नमूनाको निःशुल्क पिसिआर गर्दै चितवन मेडिकल कलेज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नारयणगढ- चितवन मेडिकल कलेजले स्थापना गरेको पिसिआर प्रयोगशालामा जिल्लाका १० हजार नागरिकको परीक्षण निःशुल्क गर्न तयार रहेको जनाएको छ। परीक्षणका लागि आवश्यक रिएजेन्ट उपलब्ध गराउन अनुरोध गर्दै सहयोग गर्न तयार रहेको जनाएको हो।

अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिशचन्द्र न्यौपानेले सरकारी प्रयोगशालामा नतिजा आउन एक साता कुर्नु परेको भन्दै तत्कालका लागि आफूहरु सहयोग गर्न तयार रहेको बताए। उनले भने, ‘एक सातासम्म नतिजा कुर्नु पर्दा संक्रमण फैलिँदै गएको छ। हामी सामाजिक उत्तरदायित्व बहन गरेर सहयोग गर्न तयार छौं।’

परीक्षणका लागि आवश्यक पर्ने रिएजेन्ट सरकारी तवरबाट मात्रै किनिने भएकाले यसको व्यवस्थापन गरिदिन उनले आग्रह गरे। सो मेडिकल कलेजले हालैमात्र पाँच करोडभन्दा बढी खर्च गरेर उच्च स्तरको प्रयोगशाला निर्माण गरेको छ। सो प्रयोगशालाले एक दिनमा एक जार २०० देखि एक हजार ५०० सम्म नमूना परीक्षण गर्नसक्छ। भरतपुर अस्पतालको प्रयोगशालाले दैनिक ५०० सम्म परीक्षण गर्दै आएको छ।

कोरोना संक्रमण बढ्दै जाँदा भरतपुर अस्पतालको प्रयोगशालामा पालोमा रहेका नमूना परीक्षणका लागि सहयोग गर्न तयार रहेको न्यौपानेले जानकारी दिए। उनले भने, ‘जनताको स्वास्थ्यमा हामी पनि जिम्मेवार छौं। पालोमा रहेका नमूना परीक्षणका लागि अनुरोध पत्रसहित आए निःशुल्क परीक्षणका लागि हामी तयार छौं।’

अस्पतालको प्रयोगशालामा पिसिआरको चाप बढेपछि नतिजा आउन एक साता कुर्नु परेको हो। गएको साता चाप बढेपछि केही नमूना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र प्रदेश प्रयोगशाला धुलिखेल पठाइएको थियो। कलेजले भरतपुर महानगरपालिकालाई रिएजेन्ट व्यवस्थापन गरेर स्वाब परीक्षण गराउन पनि अनुरोध गरेको छ।

भरतपुर महानगरप्रमुख रेणु दाहालले कलेजको प्रस्ताव सकारात्मक रहेको भन्दै रिएजेन्टको विषयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसहित माथिल्लो निकायमा छलफल भइरहेको बताए। जिल्लामा संक्रमण बढ्दै गएपछि निषेधाज्ञाको तेस्रो साता शुरु भएको छ।

हालसम्म जिल्लामा ५२४ जना संक्रमित पुगेका छन्। जिल्लामा रहेका अस्पतालमा उपचार गराइरहेका ९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ भने एक जनाको घरमा नै मृत्यु भएको थियो।रासस