काठमाण्डु – प्रतिनिधि सभामा पहिलो, दोस्रो र तेस्रो ठूला दल क्रमशः नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)ले यसपटक विजयादशमी र दिपावलीको अवसरमा आयोजना गर्ने चियापान कार्यक्रम नगर्ने भएका छन् ।
यसपटक बाढीपहिरोको वितण्डाले ठूलो जनधनको क्षति भएर नागरिकहरू शोकमा रहेकाले आफूहरूले चियापान कार्यक्रम नगर्ने निर्णय गरेको ती राजनीतिक दलहरूले बताएका छन् ।
असोज ११ र १२ गते अत्यधिक वर्षापछि आएको बाढीपहिरोका कारण अहिलेसम्म २४६ जनाको मृत्यु भएको छ । घाइते र वेपत्ताको संख्या पनि उत्तिकै छ । अर्वौको क्षति नागरिकले व्यहोरेका छन् ।
नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मिन विश्वकर्माले यसपटक कांग्रेसले चियापान कार्यक्रम नगर्ने जानकारी दिए । कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन चियापान गर्दै आएको थियो ।
नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बाढीपहिरोले जनता शोकमा रहेकाले चियापान कार्यक्रम नगर्ने निर्णय गरेको जानकारी दिए । एमालेले हरेक वर्ष कोजाग्रत पूर्णिमाको अघिल्लो दिन चियापान समारोह राख्दै आएको थियो ।
नेकपा माओवादी केन्द्रले पनि बाढी पहिरोले धेरै जनधनको क्षति भएकाले पार्टीले चियापान कार्यक्रम नगर्ने निर्णय गरेको छ परिपत्रमार्फत पार्टी पंतीमा जानकारी गराएको छ ।




प्रतिक्रिया