काठमाण्डु – संसद्को महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग बिहीबार दुई घण्टाटा मात्रै बयान लिएको छ । बिहान ११ बजेदेखि बयान लिन सुरु गरेको समितिले जबरासँग दुई घण्टामा दुई वटा मात्रै प्रश्न सोधेको थियो ।
उनलाई आज ५ र ६ नम्बरमा रहेका न्याय सम्पादन गर्न नसकेको, भ्रष्टाचारमा मुछिएको र शक्ति सन्तुलन कायम गर्न नसकेकोबारे प्रश्न सोधिएको थियो । प्रश्नको जवाफ दिने क्रममा जबराले समिति र पुर्नस्थापित संसद्माथि नै प्रश्न उठाएका छन् ।
उनले न्याय सम्पादन गर्न नसकेको तथा भ्रष्टाचारमा मुछिएकोबारे समितिले सोधेको प्रश्नमा प्रतिप्रश्न गर्दै समिति र संसद्माथि प्रतिप्रश्न गरेका हुन् ।
उनले भने, ‘ती प्रश्नमा उहाँले धेरै भूमिका बाँधेर र धेरै प्रक्रियाबाट जवाफ दिनुभयो । महाभियोग प्रस्ताव गर्नेहरु नै समितिमा बस्न मिल्छ ? भन्दै घरीघरी समिति र संसद्लाई नै प्रश्न गर्ने व्याख्यात्मक शैलीमा जानुभयो । ’
बैठकपछि प्रतिक्रिया दिँदै समिति सदस्य मीन विश्वकर्माले जबराले महाभियोग प्रस्ताव गर्नेहरु नै समितिमा बस्न मिल्छ ? भन्दै प्रश्न उठाएको बताए ।
चोलेन्द्रले बुधबार ४ वटा प्रश्नको जवाफ दिएका थिए । त्यसक्रममा पनि उनले आफुलाई महाअभियोग लगाइनुको कारण के हो ? भन्दै प्रश्न उठाएका थिए । उनले बयानका क्रममा २०७८ असार २८ गतेकै शेरबहादुर देउवा नेतृत्वमा सरकार बनाउने गरी जारी गरिएको परमादेशकै कारण महाअभियोग लगाइएको भए त्यसमा आफ्नो कमजोरी देखाउन पनि चुनौती दिएका छन्।
परमादेशपछि सत्तारुढ दलहरुसँग बार्गेनिङ गरेको आरोप लागिरहेका बेला जबराले त्यसको उचित प्रमाण र कारण पनि उपलब्ध गराउन माग गरेका हुन्।




प्रतिक्रिया