काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले विश्वव्यापी महामारकिो रुपमा फैलिरहेको कोारनोमा भाइरसको प्रभाव न्याय क्षेत्रमा पनि परेको बताएका छन् ।
शुक्रबार कानून दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानन्यायाधीश जबराले महामारीबाट प्रभावित नेपालसहितका देशका अदालतहरूले सङ्कुचनसहितको न्यायसम्पादन र सेवा प्रवाहको व्यवस्थापन गर्दै आएको बताएका छन् ।
‘सम्पूर्ण मानव समुदायको सरोकार र विश्वव्यापी बहुआयामिक प्रभावहरू रहेको शताब्दीकै ठूलो यस महामारीले ‘प्यान्डेमिक जस्टिस्’ सम्बन्धी छुट्टै विधिशास्त्रको विकासको आवश्यकता रहेकोसमेत अनुभूति गराएको छ’, उनले भनेका छन् ।
उनले कोरोनाको औषधि पत्ता लागिनसकेको अवस्थामा सामाजिक दूरी कायम गर्नेलगायत स्थापित विधि र मापदण्डहरूको अवलम्बन तथा रोग प्रतिरोधी क्षमता अभिवृद्धिका लागि उच्च मनोबल, सकारात्मक सोच र आत्मसंयम नै यसको रोकथाम र नियन्त्रणको उपयुक्त विकल्प रहेको बताएका छन् ।
त्यस्तै उनले न्यायिक इतिहासको अत्यन्त जटिल र कठिन परिस्थितिहरूमा पनि स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यतालाई अक्षुण्ण राख्दै विधिको शासन तथा नागरिकका हक अधिकारको संरक्षणका लागि न्यायपालिकाले महत्त्वपूर्ण भूमिका खेल्दै आएको स्मरण गरेका छन् ।
‘न्यायपालिकाको नेतृत्वको हैसियतबाट नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्िचतताका लागि सदा क्रियाशील रहने कुराको प्रतिबद्धतासमेत व्यक्त गर्दछु । त्यसमा कहीँ कतैबाट कुनै किसिमको आँच आउन नदिन आफू सदैव सचेत, गम्भीर र संवेदनशील रहेको पनि म यस अवसरमा स्पष्ट गर्न चाहन्छु’, उनले भनेका छन्, ‘आजको दिनमा हामी सबैले आ–आफ्नो तहबाट गर्नुपर्ने प्रण पनि त्यही नै हो भन्ने मलाई लाग्दछ । यसबाट नै कानून दिवसप्रतिको वास्तविक सम्मान र दिवस मनाउनुको सार्थकता रहन सक्छ ।’




प्रतिक्रिया