काठमाण्डु – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा यस धर्मावलम्बीहरूले क्रिसमस दिवस मनाउँदैछन् । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो ।
विश्वका धेरै मानिसले मनाउने क्रिसमस दिवस नेपालमा भने २०६३ सालपछि महोत्सवका रूपमा मनाउन थालिएको हो ।
पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मएको भनिएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले जानकारी दिए । उनले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रूपमा मनाउने गरेको उनले बताए ।
दिवसका अवसरमा २०६३ सालदेखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो । २०७५ सालदेखि २०७७ सम्म क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो । २०७८ सालदेखि फेरि सबैलाई सार्वजनिक बिदा दिइएको छ ।
पछिल्लो समय मुख्य शहरका प्रमुखस्थल क्रिसमस ‘ट्रि’ ले सजाउने गरिएको छ । विशेष गरी पर्यटक बढी आउने पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, पोखरा, सौराहालगायत सहरमा क्रिसमसको रमझम बढी हुने गरेको छ ।
क्रिसमस दिवसको पूर्वसन्ध्यामा गएराति काठमाण्डु, ललितपुर सहितका शहरहरुका सपिङ मलहरूमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।
नेपालमा ३० लाख क्रिश्चियन धर्मावलम्बी र १३ हजारभन्दा बढी चर्च छन् ।




प्रतिक्रिया