भ्रष्टाचारमा दोषी सहसचिव शर्माद्वारा डिल्लीबजार कारागारमा आत्मसमर्पण

भ्रष्टाचारमा दोषी सहसचिव शर्माद्वारा डिल्लीबजार कारागारमा आत्मसमर्पण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका सहसचिव चुडामणि शर्माले डिल्लीबजार कारागारमा बुधबार आत्मसमर्पण गरेका छन् । विशेष अदालतले ५ असार २०८० मा बहुचर्चित कर फर्स्यौटमा शर्मा सहित तीन जना पदाधिकारीलाई दोषी ठहर गर्दै ९ वर्षका दरले कैद सजाय हुने फैसला गरेको थियो ।

कर फर्स्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत, सदस्यहरु उमेश ढकाल र सदस्य सचिव रहेका आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक शर्मालाई विशेष अदालतका तत्कालिन अध्यक्ष अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले दोषी ठहर गरेको थियो ।

आयोगको कामकारबाहीबाट ६ अर्ब १५ करोड ७० लाख ४६ हजार ८४९ रुपैयाँ भ्रष्टाचार भएको ठहर इजलाशको छ । त्यसलाई तीन जना आरोपीबाट बिगो भराउने आदेश पनि इजलाशले गरेको थियो ।

कारागारमा उपस्थित भएलगत्तै विशेष अदालतको फैसला उल्ट्याउनुपर्ने माग राखी शर्माले सर्वोच्च अदालतमा पुनरावेदन पनि गरेका छन् ।

बिगो र जरिवानावापतको रकम धरौटी राखेर मात्रै मुद्दामा पुनरावेदन गर्न पाइने व्यवस्था छ । शर्माले करिब ६ अर्ब रुपैयाँ धरौटी राख्न नसकेपछि थुनामा बसेर पुनरावेदन गरेका हुन् ।

बिगो र जरिवाना गरेर हरेकको भागमा ६ अर्ब १६ करोड ४० लाख ९६ हजार ८४७ रुपैयाँ परेको थियो । तोकिएको धरौटी बुझाउन नसक्ने अवस्था भएमा दोषी ठहर भएकाहरु थुनामै बसेर पुनरावेदन गर्न पाउँछन् । ठूलो रकम धरौटीबापत बुझाउन अफ्टेरो परेपछि शर्माले थुनामा आत्मसमर्पण गरेर पुनरावेदन गरेका हुन् ।