काठमाडौँ— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका नायब सुब्बा ललितकुमार झा र उनकी श्रीमती सुचितादेवी झाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
झा दम्पत्तीले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको अख्तियारको आरोप छ।
२०४० सालमा मुखिया पदबाट सार्वजनिक सेवामा प्रवेश गरेका झा पदोन्नति हुँदै हाल ईलाका प्रशासन कार्यालय बर्दिवास, महोत्तरीमा नायब सुब्बामा कार्यरत रहेको छन्।
सेवा प्रवेशदेखि २०७६ जेठ मसान्तसम्मको सम्पत्ती विवरण हेर्दा उनले तलब¸ भत्ता¸ कर्जा¸ शेयर बिक्री¸ जग्गा बिक्री लगायतबाट २ करोड २८ लाख ६४ हजार २०८ आर्जन गरेको देखिनए पनि उनीसँग जग्गा खरिद¸ घर निर्माण¸ सवारी साधन खरिद¸ शेयर खरिद¸ छोराछोरीहरुको शिक्षामा लगानी तथा खर्च एवं विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा मौज्दात रकम हेर्दा ३ करोड ८५ लाख ४३ हजार २३४ लगानी गरेको देखिन आएको छ।
वैध सम्पत्तिभन्दा १ करोड ५६ लाख ७९ हजार २६ रुपैयाँ बढी देखिन आएको र झाले त्यसको स्रोत पुष्टि गर्न नसकेपछि गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको ठहर गर्दै भ्रष्टचारको मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
झा दम्पत्तिविरुद्ध १ करोड ५६ लाख ७९ हजार २६ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन बमोजिम मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।




प्रतिक्रिया