काठमाण्डु – सवारी चालक अनुमतिपत्र वितरणमा अनियमितता गरेको आरोपमा यातायात व्यवस्था कार्यालय जुम्लाका तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ३ जनाविरुद्ध विशेष अदालत काठमाण्डुमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
अनुसन्धानबाट आर्थिक वर्ष २०७५/०७६ मा प्रयोगात्मक परीक्षामा फेल तथा अनुपस्थित भएका १८ जनालाई नतिजा फेरबदल गरी सवारी चालक अनुमतिपत्र जारी गरिएको खुलेको अख्तियारले जनाएको छ ।
विदेशमा रहेको अवस्थामा पनि शालिकराम भण्डारीको नाममा वर्ग ‘ए’ को सवारी चालक अनुमतिपत्र जारी गरिएको तथ्य समेत पुष्टि भएको छ ।
मुद्दामा यातायात व्यवस्था कार्यालय जुम्लाका तत्कालीन निमित्त कार्यालय प्रमुख मदनप्रसाद देवकोटा, तत्कालीन मेकानिकल सुपरभाइजर शम्भु दाहाल तथा जिल्ला प्रहरी कार्यालय जुम्लाका तत्कालीन प्रहरी नायव निरीक्षक गंगाराम विश्वकर्माविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ र १३ बमोजिम कैद तथा जरिवाना सजायको मागदाबी गरिएको छ ।
प्रयोगात्मक परीक्षाको नतिजा कम्प्युटर अभिलेखमा अनधिकृत रूपमा सच्याई फेल तथा अनुपस्थित देखिएका व्यक्तिहरूलाई पास देखाएर अनुमतिपत्र जारी गरेको पुष्टि भएपछि आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।




प्रतिक्रिया