काठमाण्डु – सडक डिभिजन कार्यालय दाङका कार्यालय प्रमुख राम पुकार जयसवालसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार जयसवाल र तत्कालीन वन अधिकृत राजु क्षेत्रीविरुद्ध ८१ लाख ३७ हजार ९०० रुपैयाँ भ्रष्टाचार मुद्दा दायर भएको हो ।
यसैगरी, राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टविरुद्ध ५८ लाख ४५ हजार ८२५ रुपैयाँ, राप्ती गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष गेमे खड्काविरुद्ध ३ लाख ७१ हजार रुपैयाँ, वडा नम्बर ४ का वडाध्यक्ष वीरबहादुर चौधरीविरुद्ध १ लाख ४१ हजार २२६ रुपैयाँ, अभिमान चौधरीविरुद्ध ७३ हजार ६४६ रुपैयाँ, नन्दु गिरीविरुद्ध ३० हजार ९७० रुपैयाँ, झविन्द्र प्रसाद भण्डारीविरुद्ध १ लाख ४१ हजार २२६ रुपैयाँ र केशर बहादुर चौधरीविरुद्ध ३६ हजार ६१० रुपैयाँ भ्रष्टाचार मुद्दा दायर भएको आयोगले जनाएको छ ।
आयोगका अनुसार उनीहरूविरुद्ध राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानीदेखि लमही नगरपालिका वडा नम्बर ४ अनंहवासम्मको पूर्वपश्चिम राजमार्गको दायाँबायाँ दुवै किनारको सडक क्षेत्राधिकारभित्र काटिएका सिमल, सिसौ लगायत विभिन्न जातका रुख हानि–नोक्सानी गरी भ्रष्टाचार गरेको मुद्दा दायर भएको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा जरिवाना हुन मागदाबी लिई सोमबार विशेष अदालत काठमाण्डुमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।




प्रतिक्रिया