काठमाडौं—अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति बलभद्रप्रसाद दाससहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
प्रतिष्ठानबाट विभिन्न मितिमा भएका वस्तु तथा सेवाको खरीद गर्दा बोलपत्रसम्बन्धी कागजमा उल्लेखित प्राविधिक ‘स्पेशिफिकेशन’ र सोही कागजमा सङ्लग्न खरीद सम्झौताका शर्त अनुरुप काम नगरेको पाइएको छ । खरीद प्रक्रियामा उल्लेख भएका व्यवस्था उल्लङ्घन गरी बढी कबोल गर्ने बोलपत्रदातालाई बोलपत्रको स्वीकृति तथा सम्झौता गरेको उनीहरु माथि आरोप छ ।
उपकुलपति दासविरुद्ध चार करोड आठ लाख ९८ हजार, रजिष्टार तुलबहादुर श्रेष्ठविरुद्ध ५६ लाख ७७ हजार बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ । यस्तै अस्पतालका निर्देशक अरविन्दकुमार सिन्हाविरुद्ध तीन करोड ७५ लाख ३० हजार भ्रष्टाचार गरेको आरोप छ ।
बोलपत्रको तथ्य विश्लेषण नगरी भुक्तानी दिन लेखा प्रमुख दिनेशराज दाहालले दुई करोड ३४ लाख ८१ हजार, उपप्रबन्धक अमित श्रीवास्तवविरुद्ध एक करोड ७४ लाख १६ हजार बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ ।
उपकरण सप्लायर्स प्रोसिजना मेडिकल प्रालि, वायोमेड इन्टरनेशनल प्रालिका चेतन अग्रवाल, उपकरण आपूर्ति गर्ने वितरक सर्जिमके डिस्टिब्यूटरका उमेश अग्रवालले विभिन्न सामान आपूर्ति गर्दा प्रतिष्ठानका पदाधिकारीसँग मिलेमतो गरेको पाइएको छ । आयोगले चेतनविरुद्ध एक करोड चार लाख १६ हजार, उमेशविरुद्ध ६० लाख ३६ हजार बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ ।




प्रतिक्रिया