काठमाण्डु – सेवाग्रहीको सुन समातेर पैसा र चेक लिएपछि मात्रै फिर्ता दिन खोज्ने ईलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन डीएसपी ठगबहादुर केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
प्रहरी महानिरीक्षकको सचिवालयको टोलीले केसीलाई कार्यालयमै सुन, नगद र चेकसहित नियन्त्रणमा लिएपछि उनी विवादमा परेका थिए ।
रुपन्देहीस्थित बुटवल उपमहानगरपालिका अन्तर्गत हाटबजार नजिकबाट सेवाग्राहीको सुन लिएर फिर्ता नगरेको प्रहरी प्रधान कार्यालयको प्रतिवेदन र उजुरीका आधारमा अख्तियारले डीएसपीमाथि थप छानबिन गरेको थियो ।
केसीले २०७९ मंसिर २५ गते बुटवल उपमहानगरपालिका–५ हाटबजार नजिकबाट ३४ तोला २१ लाल ७ प्वाइन्ट सुन समातेर फिर्ता नगरेको आरोप उनीमाथि छ
डीएसपीले सेवाग्राहीसँग १८ लाख मागेका थिए । सुनधनीले ८ लाख ५० हजार रुपैयाँ नगद र ९ लाख ५० हजार बराबरको चेक डीएसपी केसीलाई दिएका थिए ।
पैसा र चेक लिएपछि केसीले अन्य व्यक्तिमार्फत सुन जिम्मा लगाएको अख्तियारको छानबिनबाट देखिएको छ । आयोगका प्रवक्ता भोला दाहालले डीएसपी केसीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार बिगो बमोजिमको जरिवाना र कैद सजायको मागदाबी लिई विशेष अदालतमा मुद्दा दायर गरिएको जानकारी दिए ।




प्रतिक्रिया