डेढ लाख घुससहित रङ्गेहात पक्राउ परेका इन्जिनीयरसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डेढ लाख घुससहित रङ्गेहात पक्राउ परेका पोखरा महानगरपालिकाका इन्जिनीयर शिवप्रसाद बरालसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सेवाग्राहीबाट डेढ लाख रुपैयाँ घुस लिएको पुष्टि भएको जनाउँदै अख्तियारले बिहीबार विशेष अदालत काठमाण्डुमा मुद्दा दायर गरेको छ ।

अख्तियारले महानगरपालिकाका सबइन्जिनीयर उषाकिरण रोकाया र गोदार इन्जिनीयरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाई पनि विपक्षी बनाएको छ ।

पोखरा महानगरपालिकामा रोकाया र कुँवर सहितले घर निर्माण सम्पन्न प्रमाणपत्र दिलाउने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको उजुरी परेपछि अख्तियारले निगरानी बढाएको थियो ।

अख्तियारको पोखरा कार्यालयबाट खटिएको टोलीले २०८० चैत २८ गते आरोपीहरूलाई सेवाग्राहीबाट १ लाख ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानका क्रममा महानगरपालिकाका इन्जिनीयर बरालको पनि संलग्नता पाइएको अख्तियारले बिहीबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement