काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङको रतुवामाई नगरपालिका–६ का वडाध्यक्ष तुलाराम लुइँटेलसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सामाजिक सुरक्षा (ज्येष्ठ नागरिक) भत्ताको रकम हिनामिना गरेको आरोपमा आरोपीहरूविरुद्ध शुक्रबार विशेष अदालत काठमाण्डुमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार वडा कार्यालयबाट वितरण गरिँदै आएको भत्ता बापतको रकम अपचलन भएको उजुरी परेपछि छानबिन गर्दा भ्रष्टाचार भएको देखिएको छ ।
अख्तियारको विज्ञप्तिमा भनिएको छ, ‘भत्ता प्राप्त गर्ने लाभग्राहीको सूचीमा प्रविष्ट गराउनका निमित्त नागरिकताको प्रथम प्रतिलिपिको लागि वडा कार्यालयबाट गरिने सिफारिसको व्यहोरामा जन्म मितिको उमेर बढाएर बदनियतपूर्ण ढंगले गलत लिखत तयार गरी/गराई सिफारिस गरेको साथै ईलाका प्रशासन कार्यालय रंगेली मोरङले नागरिकताको प्रथम प्रतिलिपि जारी गर्नका निमित्त पेश भएको अनुसूचीको विवरण यकिन नगरी प्रथम प्रतिलिपिका लागि विवरण रहेको कार्यालयबाट विवरण माग तथा रुजु समेत नगरी जन्म मिति फरक पारी प्रतिलिपि नागरिकता जारी गरिदिई बदनियतपूर्ण ढंगले गलत लिखत तयार गर्ने कार्य गरेको पुष्टि हुन आएकोले उक्त कार्यमा संलग्न कर्मचारी एवं व्यक्तिहरूउपर सजायको मागदाबी लिई विशेष अदालत काठमाण्डुमा आरोप–पत्र दायर गरिएको छ ।’




प्रतिक्रिया