बाल संगठनको जग्गा हिनामिना प्रकरणमा ‘एक्सन’ : यी २० जनालाई पक्राउ गरिँदै


काठमाण्डु – राजधानी काठमाण्डुको नक्सालस्थित नेपाल बाल संगठनको जग्गा हिनामिना प्रकरणमा जोडिएका २० जनालाई पक्राउ गर्ने तयारी थालिएको छ ।

जिल्ला अदालत काठमाण्डुले २० जनालाई पक्राउ गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुमति पाएसँगै खोजी कार्य थालिएको छ ।

बाल संगठनको जग्गा हस्तान्तरण गर्ने तत्कालीन पदाधिकारी र जग्गामा निजी क्षेत्रको विद्यालय सञ्चालन गरिरहेका व्यापारिक घरानाका सञ्चालकहरू छन् । बाल संगठनका तत्कालीन पदाधिकारीले नक्सालस्थित अनाथ तथा सहाराविहीन बालबालिकाका लागि जोहो गरिएको बाल मन्दिर परिसरको २८ रोपनी ५ आना १ पैसा जग्गा लिजमा दिने निर्णय गरेको आरोप छ । जग्गामा अहिले व्यापारिक घराना विशाल ग्रूपको अधिकांश स्वामित्व रहेको बृहस्पति स्कूल र राय स्कूल सञ्चालनमा छन् ।

सीआईबीले बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्य, उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ, संगठनका तत्कालीन महासचिव श्यामकुमार आले, प्रचण्डराज प्रधान, गणेशभक्त श्रेष्ठ, रामकाजी कोने र सुवासकुमार पोखरेललाई पक्राउ गर्न अनुमति पाएको छ ।

यसैगरी बाल संगठनका तत्कालीन उपमहासचिव सुमन शाक्य, कोषाध्यक्ष मनोहरगोपाल श्रेष्ठ, उपकोषाध्यक्ष दीपकदास श्रेष्ठ, केन्द्रीय कार्यसमिति सदस्य कृष्णशंकर साहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

बृहस्पतिका सञ्चालक प्रवीणराज जोशी, मुरारीनिधि तिवारी, पुरूषोत्तमराज जोशी, श्रद्धा संघई, अभिनव सिंघानिया, सिद्धार्थ केडिया र कीर्तिप्रसाद पाण्डेविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंहकी पुत्री रीतालाई राजनीतिक नियुक्तिबाट बाल संगठनको अध्यक्ष बनाइएको थियो । उनी २०७७ सालसम्म बाल संगठनमा निरन्तर अध्यक्ष रहेकी थिइन् । उनी नेतृत्वमा रहेकै बेला जग्गा लिजमा दिइएको थियो ।

बाल संगठन र बृहस्पति स्कूलबीच २०४९ माघ २७ गते पहिलोपटक ९ रोपनी जग्गा लिजसम्बन्धी सम्झौता हुँदा संगठनका तर्फबाट महासचिव श्यामकुमार आलेले हस्ताक्षर गरेका छन् । संगठनका तर्फबाट अञ्जु, बस्नेत, राजेन्द्रमान जोशी, प्रमोद पौडेल साक्षी बसेका थिए ।

बाल संगठनको जग्गा भाडामा लिन बृहस्पति स्कूलले सम्झौता गरेको छ । त्यो जग्गा बृहस्पतिले राय स्कूललाई भाडामा दिएको छ । गत वैशाख १४ गते जग्गा लिज सम्झौता नै गैरकानूनी रहेको ठहरसहित बाल संगठनले सम्झौता रद्द गर्ने निर्णय गरिसकेको छ । गत मंगलबार संगठनले बृहस्पति विद्या सदन र संगठनबीच भएका जग्गा लिज सम्झौतामा हस्ताक्षर गर्ने व्यक्ति तथा बृहस्पति स्कूलका सञ्चालकविरुद्ध सीआईबीमा जाहेरी दिएको थियो ।

यी हुन् पक्राउ पूर्जी जारी भएका व्यक्तिहरू

१) नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह ।
२) नेपाल बाल संगठनका तत्कालीन उपाध्यक्ष तुलसी नारायण श्रेष्ठ ।
३) नेपाल बाल संगठनका तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठ ।
४) नेपाल बाल संगठनका तत्कालीन उपमहासचिव सुमन शाक्य ।
५) नेपाल बाल संगठनका तत्कालीन सदस्य एवं स्रोत तथा परिचालन उपसमिति संयोजक कृष्णशंकर साह ।
६) नेपाल बाल संगठनका तत्कालीन अख्तियार प्राप्त महासचिव श्याम कुमार आले ।
७) नेपाल बाल संगठनका तत्कालीन अख्तियार प्राप्त महासचिव सुवास कुमार पोखरेल ।
८) नेपाल बाल संगठनका तत्कालीन कोषाध्यक्ष मनोहर गोपाल श्रेष्ठ ।
९) नेपाल बाल संगठनका तत्कालीन महासचिव प्रचण्डराज प्रधान ।
१०) नेपाल बाल संगठनका तत्कालीन महासचिव रामकाजी कोने ।
११) नेपाल बाल संगठनका तत्कालीन उपाध्यक्ष योगेन्द्र बहादुर शाही ।
१२) नेपाल बाल संगठनका तत्कालीन उपकोषाध्यक्ष दिपकदास श्रेष्ठ ।
१३) बृहस्पति विद्यालय व्यवस्थापन प्रालि (बृहस्पति विद्यासदन) का अख्तियार प्राप्त तत्कालीन अध्यक्ष चिरञ्जीवि तिवारी ।
१४) बृहस्पति विद्यालय व्यवस्थापन प्रालि (बृहस्पति विद्या सदन) का सञ्चालक प्रविणराज जोशी ।
१५) बृहस्पति विद्यालय व्यवस्थापन प्रालि (बृहस्पति विद्या सदन) का तत्कालीन सञ्चालक मुरारी निधि तिवारी ।
१६) बृहस्पति विद्यालय व्यवस्थापन प्रालि (बृहस्पति विद्या सदन) का अध्यक्ष पुरुषोत्तम राज जोशी ।
१७) बृहस्पति विद्यालय व्यवस्थापन प्रालि (बृहस्पति विद्या सदन) का सञ्चालक श्रद्धा संघाई ।
१८) बृहस्पति विद्यालय व्यवस्थापन प्रालि (बृहस्पति विद्या सदन) का सञ्चालक अभिनव सिंघानिया ।
१९) बृहस्पति विद्यालय व्यवस्थापन प्रालि (बृहस्पति विद्या सदन) का सञ्चालक सिद्धार्थ केडिया ।
२०) बृहस्पति विद्यालय व्यवस्थापन प्रालि (बृहस्पति विद्या सदन) का सञ्चालक कीर्ति प्रसाद पाण्डे ।

प्रतिक्रिया दिनुहोस
Advertisement