अब सातै प्रदेशमा सिआईबी परिचालन


काठमाडौं । आफ्नो केन्द्रीय अनुसन्धान सञ्जाललाई सातै प्रदेशमा विस्तार गर्ने उदेश्यले नेपाल प्रहरीले सातै प्रदेशमा सिआइबी परिचालन गर्ने भएको छ ।

प्रहरी महानिरीक्षकको प्रत्यक्ष निर्देशन र नियन्त्रण तथा नायव महानिरीक्षक (डिआइजी) को कमाण्डमा रहेको केन्द्रीय अनुुसन्धान व्युरो अब सातै प्रदेशमा केन्द्रीय अनुसन्धान सेल (सिआइसी) का नाममा परिचालित हुने भएको हो ।

ती युनिटले केन्द्रीय अनुसन्धान व्युरोकै लोगो प्रयोग गर्ने छन् । नियमावली संशोधन मस्यौदामा सिआइबीको अलग्गै लोगो पनि प्रस्तावित भएको छ । सरकारको ०७५ जेठ २७ कै निर्णयअनुसार संघीय प्रहरी इकाईको संरचनाभित्र सिआइसी रहने व्यवस्था भए पनि नियमावली सहज नबन्दा संरचना निर्माणमा समस्या रहँदै आएको थियो ।

यसको सञ्जाल विस्तारका लागि प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान व्युरो नियमावली २०७६ स्वीकृतिका लागि गृह मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा प्रस्ताव पेश गरेको छ ।
मन्त्रिपरिषद्को २ भदौको निर्णयअनुसार उक्त नियमावली विधेयक समितिमा छलफलका लागि पेश भएको छ । संशोधिन नियमावलीअनुसार अब सातै प्रदेशका संघीय प्रहरी इकाई मातहत केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) को शाखाका रुपमा सिआइसी रहने भएका छन् । त्यसको कमाण्ड प्रहरी उपरीक्षक (एसपी) ले गर्ने व्यवस्था स्वीकृतिका लागि अघि बढाइएको प्रहरी प्रधान कार्यालयस्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement