सय किलो सुन प्रकरण : सिआईबीलाई अनुसन्धानको जिम्मेवारी दिने तयारी


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहालले एक सय किलो सुन प्रकरणको अनुसन्धान गर्ने जिम्मा प्रहरीलाई दिने तयारी गरेका छन् । प्रधानमन्त्री दाहालले बिहिवार सांझ त्यसबारेमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रहरी प्रमुख बसन्त कुवंर र केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) प्रमुख किरण बज्रचार्यसंग छलफल गरेका हुन् ।

त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल बाहिर बरामद भएको एक सय किलो सुनको प्रकरणमा अहिले प्रधानमन्त्री मातहत रहेको राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । विभागले गरेको अनुसन्धान प्रभावकारी नभएको गुनासो आइरहेको बेला प्रधानमन्त्री दाहालले घटनाको अनुसन्धान सिआईबीलाई दिने बारेमा गृहमन्त्री र प्रहरी प्रमुखसंग छलफल गरेका हुन् ।

राजस्व विभागले अहिलेसम्म १७ जनालाई पक्राउ गरिसकेको छ । तर, सुन ल्याउने मुख्य कारोबारी राकेश अडुकिया अहिलेसम्म पनि पक्राउ परेका छैनन् । यो प्रकरणमा संजय बाविया र व्यवसायी दीपक मल्होत्रामाथि समेत अनुसन्धान भइरहेको छ ।

सुन तस्करहरुले अहिलेसम्म २ अर्बभन्दा बढिको सुन तस्करी गरेको निष्कर्श विभागले निकालेपनि यसका मुख्य अभियुक्तलाई अहिलेसम्म पक्राउ गर्न नसकेपछि प्रधानमन्त्रीले सिआईबीलाई जिम्मा लगाउने तयारी गरेका हुन् ।

प्रधानमन्त्री दाहालका यसअघि पिए रहेका नवराज ढुंगाना हाल विभागको प्रमुख छन् । सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दलका नेताहरुले सय किलो सुन प्रकरणमा उच्चस्तरीय छानविन समिति बनाउनुपर्ने माग गरिरहेका बेला प्रधानमन्त्रीले सुन प्रकरणको अनुसन्धानको जिम्मा सिआईबीलाई दिने तयारी गरेका हुन् ।

प्रधानमन्त्री दाहाल निकट स्रोतले शुक्रवार सिआईबीलाई सय किलो सुन प्रकरणको अनुसन्धानको जिम्मेवारी दिने निर्णय हुन सक्ने जनाएको छ । ‘आज गृहमन्त्रीसहित प्रहरी प्रमुखसंग यसबारेमा छलफल भएको छ । प्रधानमन्त्री सिआईबीलाई अनुसन्धानको जिम्मेवारी दिनुपर्छ भन्नेमा कन्भिन्स हुनुहुन्छ । अव राजस्व अनुसन्धान विभागले शुक्रवार पत्रचार गरेपछि थप स्पष्ट होला ।’ दाहाल निकट स्रोतले भन्यो ।

प्रतिक्रिया दिनुहोस
Advertisement