सुन तस्करी प्रकरण: मुद्दा अदालत गए पनि सीआईबीले अनुसन्धान जारी राख्ने

सुन तस्करी प्रकरण: मुद्दा अदालत गए पनि सीआईबीले अनुसन्धान जारी राख्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सुन तस्करी प्रकरणको मुद्दा अदालतमा गए पनि अनुसन्धान भने नरोक्ने भएको छ ।

सात कम्पनीबाट सुन तस्करी भएको तथ्य फेला परेकामा अहिलेसम्म जम्मा एक (रेडी ट्रेड प्रालि)बाट भएको तस्करीको मात्रै अनुसन्धान सकेको जानकारी दिँदै सीआईबी प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले अनुसन्धान जारी राख्ने जानकारी दिइन् ।

बुधबार सीआईबीले आफ्नो रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो । सरकारी वकिल कार्यालयका अनुसार एक-दुई दिनमै मुद्दा अदालत जाँदैछ । तर, सात कम्पनीबाट ३६२ किलो सुन तस्करी भएको तथ्य पत्ता लगाए पनि अहिलेसम्म जम्मा ६० किलो ७१६ ग्राम मात्रै सुन बरामद भएको छ । बाँकी सुन तस्करले गन्तव्यमा पुर्‍याइसकेकाले त्यसमा थप संलग्नको खोजीका लागि सीआईबीले अनुसन्धान जारी राखेको जानकारी दिएको छ ।

नयाँ तथ्य फेला पारेपछि पुरक प्रतिवेदनका रूपमा बुझाउने सुन प्रकरणको अनुसन्धानको नेतृत्व गरेका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताए । काठमाडौंको टोखा र लाजिम्पाटमा सुन गाल्ने काम भएको पनि प्रहरीले फेला पारेको छ । उक्त प्रकरणमा आरोपीमाथि भन्सार ऐन, संगठित अपराध, नेपाल राष्ट्र बैंक ऐन, मुलुकी अपराध संहिता, नेपाल नागरिकता ऐन, राहदानी ऐन र अध्यागमन ऐनअनुसार कारबारहीका लागि सिफारिस गरिएको छ ।

अनुसन्धानका क्रममा अहिलेसम्म गिरोहले विभन्नि सात कम्पनीबाट ३६२ किलो (३०२ र ६० किलो) भन्दा बढी सुन तस्करी गरेको खुलेको छ । अहिलेको मूल्यमा तीन अर्ब ५० करोड दुई लाख १६ हजार ५५२ को सुन तस्करी भएकाले सो रकमलाई बिगो कायम गरी मुद्दा अघि बढाउन पनि राय दिइएको छ । अहिलेसम्म ३२ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २३ नेपाली र नौ विदेशी नागरिक छन् । १८ जना भने फरार छन् ।