काठमाडौं – सिभिल बैंकले काठमाडौंको भीमसेनस्थानमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । शाखाको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले एक समारोहबीच उद्घाटन गरेका छन् ।
समारोहमा गभर्नर शिवाकोटीले नेपालबाट बिदेशिएको जनशक्तिले अहिले आफ्नै देशमा फर्की बैंकबाट कर्जा लिई आफ्नै देशमा रोजगारीको सृजना गरेको बताउँदै सबैले आ–आफ्नो क्षेत्रबाट वित्तिय योगदान पुर्याएमा देश आफै समृद्ध हुने बताए ।
कार्यक्रमका विशिष्ट अतिथि काठमाडौं महानगरपालिका वडा नं २० का वडा अध्यक्ष राजेन्द्र मानन्धरले आफ्नो वडामा खोलिएको पहिलो बैंक भएकोमा सिभिल बैंकलाई बधाई तथा धन्यबाद दिए । उनले बैंकलाई आफ्नो तर्फबाट भरपुर सहयोग गर्नेसमेत बताए ।
सिभिल बैंकका अध्यक्ष इ. इच्छाराज तामाङले परोपकार आदर्श मा.बी.को कक्षा ९ मा अध्ययनरत सुनी राईलाई बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत मासिक तीन हजारका दरले एक वर्षको जम्मा ३६ हजारको आर्थिक सहयोग विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गरे ।
साथै शाखा कार्यालयमा रन्जना लिपि भएको परिचयपाटी पनि स्थापना गरिएको छ । यस बैंकले देशभर १०६ वटा शाखाहरु तथा २ एक्स्टेन्सन काउन्टर र ५ वटा शाखारहित बैंकिंङ सेवाबाट सेवा दिदैं आएको छ ।




प्रतिक्रिया