काठमाण्डु- सर्वोच्च अदालतका बहुमत न्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पदबाट राजीनामा दिनुपर्ने निष्कर्श निकालेका छन् । सत्ता गठबन्धनमा भाग खोजेर राणाले न्यायालयको बदनाम गरेको भन्दै छानविन हुनुपर्ने निष्र्कशमा उनिहरु पुगेका हुन ।
सर्वोच्चका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीसहित सर्वोच्चका बहुमत न्यायाधीशको आइतबार बसेको अनौपचारिक बैठकले सर्वोच्च अदालतको विश्वसनीयतामा प्रश्न चिन्ह खडा भएको र अदालतलाई बदनाम गर्ने काम भएको भन्दै उनिमाथी छानबिन हुनुपर्ने र त्यसो नभएको अवस्थामा नयां नेतृत्वको लागी बाटो खुला गर्नुपर्ने निष्कर्श निकालेको एक न्यायाधीशले बताए ।
आजको बैठकमा सत्तामा प्रधानन्यायाधीशले मागेको भागबण्डा, न्यायिक नेतृत्वको आर्थिक अपारदर्शिता र पेशी तोक्ने प्रक्रिया लगायतका विषयमा छलफल भएको स्रोतले बतायो । उनिहरुले नयां नेतृत्वको बारेमा समेत बैठकमा छलफल गरेको बताइन्छ ।
प्रधानन्यायाधीश राणाकै कारणले संवेदनशील र जटिल मुद्दाको सुनुवाइ हुन नसकेको भन्दै बैठकमा उनको आलोचना भएको थियो । उनिहरुले न्यायालयको गरिमा बचाउन प्रधानन्यायाधीशविरुद्ध अवज्ञासम्ममा जानुपर्ने सम्मको छलफल गरेका छन् ।
सर्वोच्चमा रहेका २० जना न्यायाधीशमध्ये १३ जना उनको विरुद्धमा छन् । सर्वोच्चका न्यायाधीशहरू अनिलकुमार सिन्हा र सपना मल्ल प्रधान आइतबारदेखि नै बिदा बसेका छन् । न्यायाधीश ईश्वर खतिवडा पनि दशै अघिदेखि अमेरिकामा छन् । आजको बैठकमा उनिहरुको सहभागिता भने थिएन । अर्का न्यायाधीश हरिकृष्ण कार्की पनि सोमबारबाट बिदामा बस्न लागेका छन् ।
वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीसहित न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुङ्गाना र सुष्मालता माथेमा प्रधानन्यायाधीशमाथि छानबीन हुनुपर्ने पक्षमा छन् ।
न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुंयाल र नहकुल सुवेदी तटस्थ भुमिकामा छन् । तर, उनिहरु पनि न्यायालयको विश्वसनियतालाई जोगाउनुपर्ने पक्षमा छन् । राणाको पक्षमा न्यायाधीशहरू तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, मनोजकुमार शर्मा र कुमार चुडाल रहेका छन् ।
प्रधानन्यायाधीश राणा फुल कोर्ट बैठक बसेर अटोमेसन सिस्टम या गोलाप्रथाबाट पेशी तोक्न सहमत भएपनि नेपाल बार एशोसियन र सर्वोच्चका न्यायाधीशहरु त्यसमा विश्वस्त हुन सकेका छैनन । बारका पदाधिकारीहरुसंग छलफलमा उनले मंगलवारदेखी गोला प्रथाबाट पेशी तोक्ने प्रतिवद्धता जनाएपनि उनिहरु त्यसमा विश्वस्त हुन सकेका छैनन । सँेमबार बारका पदाधिकारीहरुले सबै न्यायाधीशहरुलाई भेटेर छलफल गर्ने भएका छन् ।
यसअघि दशैअघि बसेको सर्वोच्चको फुल कोर्टको बैठकमा न्यायाधीश ईश्वर खतिखडा र प्रकाशमानसिंह राउतले न्यायिक नेतृत्वको कारण न्यायालय एकपछि अर्को बद्नामीमा गएकाले उनिमाथी छानविन हुनुपर्ने धारणा राखेका थिए ।
राणाको राजीनामा लागी न्यायालयभित्र र बाहिर दबाव बढ्दै गएको छ । उनिमाथी छानविन हुनुपर्ने आवाज चौतर्फी उठेको छ ।
राणाले बाटो खोल्नुपर्ने भन्दै न्यायाधीश समाजले विज्ञप्ती नै निकालेको छ भने पूर्वप्रधानन्यायाधीशहरूले पनि आफनो धारणा सार्वजनिक गर्ने तयारी छन् ।




प्रतिक्रिया