निर्वाचन हाम्रो लागि अग्निपरीक्षा हो : अध्यक्ष राउत

निर्वाचन हाम्रो लागि अग्निपरीक्षा हो : अध्यक्ष राउत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनमत पार्टीका अध्यक्ष सिके राउतले फागुन २१ गते निर्वाचन मिति घोषणा भइसकेको अवस्थामा पार्टी भित्र विभिन्न कार्य गरेर नेता कार्यकर्ताको ध्यान भट्काउने र थकाउने षड्यन्त्र भइरहेको बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष राउतले समयको अभाव भएको बेलामा पार्टी भित्र विभिन्न कार्य गरेर नेता कार्यकर्ताको ध्यान भट्काउने षड्यन्त्र भएको भन्दै यसमा बहस गरेर समय खेर नफाल्न नेता कार्यकर्तालाई निर्देशन दिए ।

उनले भने, ‘फागुन २१ निर्वाचनसम्म अन्यत्र ध्यान नभट्काऔं, अन्यत्र शक्ति खेर नफालौं । पहिला निर्वाचनमा जनमत पार्टीलाई नम्बर एक विजयी पार्टी बनाउने तिर लागौं । फागुन २१ गतेको लागि निर्वाचनको घोषणा भइसकेको छ, सबै दलहरूले मानिसकेका छन् र तयारीमा जुटिसकेका छन् । निर्वाचन आयोग पनि तयारीमा जुटिसकेको छ । हामीसँग धेरै समय छैन । मुश्किलले साढे ५ महिना समय छ । दुई–तीन महिनापछि पार्टी दर्ता गर्ने र समानुपातिक सूची बुझाउने समय पनि आइसक्छ । यस्तो समयको अभाव भएको बेलामा पार्टी भित्र विभिन्न कार्य गरेर नेता कार्यकर्ताको ध्यान भट्काउने र थकाउने षड्यन्त्र हुँदैछ । त्यसैले अरूले जे–जस्तो गरे पनि हामीले ध्यान नदिऔं, त्यसको पछि लागेर, त्यो विषयमा छलफल बहस गरेर, पोस्ट गरेर हामी समय खेर नफालौं ।’

त्यस्तै उनले यो निर्वाचन आफूहरूको लागि महाभारत र अग्निपरीक्षा भएको भन्दै निर्वाचनको तयारीमा गाउँगाउँ टोलटोलसम्म जुट्न कार्यकर्तालाई आग्रह गरे ।

‘हामी सबभन्दा पहिला हाम्रो लागि जुन महाभारत हो, अग्निपरीक्षा हो, त्यस निर्वाचनको तयारीमा गाउँगाउँ टोलटोलसम्म जुटौं । नौलो गणतन्त्र नै आगामी निकास हो प्रचार गरौं, बूथ समिति र युवा दस्ता गठन गरौं, प्रशिक्षण दिऔं, परिचालन गरौं । हरेक निर्वाचन क्षेत्रमा चुनाव कसरी जित्ने त्यतातिर लागौं । निर्वाचन पछि सबै कुराको छलफल बहस हुने नै छ । निर्वाचनमा पूरा मधेश कब्जा गरेर र देशकै निर्णायक शक्ति बनेर हामी देखाऔं । त्यो नै हाम्रो विजय हुनेछ,’ उनले भने ।