सीके राउतले लिए संसदीय राजनीतिबाट सन्यास

सीके राउतले लिए संसदीय राजनीतिबाट सन्यास

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् । सोमबार सामाजिक सञ्जालमा लेख्दै राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका हुन् ।

उनले ‘संघर्षको राजनीति’ भने जारी राख्ने बताउदै उनले भनेका छन् ‘म संसदीय (पदको) राजनीतिबाट टाढा रहनेछु तर यसको मतलब राजनीतिबाट बीचमै गायब भएको होइन । पार्टीलाई आवश्यकता रहेसम्म नेत्तृत्व दिँदै अगाडि बढाउने छु । दुई पटक व्यक्तिगत ईच्छा विपरीत संसदीय निर्वाचन लडें, एक पटक जीतें, एक पटक हारें। तर दुईटै पटक निर्वाचनमा भाग लिने निर्णयबाट खुशी नै छु।’

उनले अगाडि लेखेका छन् ‘कतिखेर संसदीय र पदको राजनीतिबाट विश्राम लिऔं भनेर मौका खोज्दा-खोज्दा २०८२ को निर्वाचन नलड्ने पक्कापक्की थियो।’

उनले २०७५ सालमा ‘स्वतन्त्र मधेश गठबन्धन’लाई सरकारले काम गर्न नदिएको र जनतामाझ जान रोक लगाएपछि पार्टी गठन गर्नुपर्ने अवस्था आएको स्मरण गरेका छन्। सो क्रममा अरू नेताहरूले अध्यक्ष बन्न नमानेपछि आफू नै पार्टीको नेतृत्व सम्हाल्नुपरेको उनले उल्लेख गरेका छन्।

२०७९ सालको आमनिर्वाचनमा आफू प्रत्यक्ष वा समानुपातिक कतैबाट नलड्ने सोच बनाएको भए पनि पार्टीका नेताहरूको आग्रहपछि निर्वाचनमा भाग लिएको उनले बताए। सो निर्णयका कारण पार्टीले प्रत्यक्षतर्फ एक सिट र समानुपातिकतर्फ पाँच सिट जित्दै राष्ट्रिय पार्टी बन्न सफल भएको उनको दाबी छ।

त्यस्तै २०८२ को निर्वाचन नलड्ने निर्णय पहिल्यै गरेको भए पनि अन्तिम समयमा पार्टीका नेताहरू र कार्यकर्ताको मनोबल नघटोस भनेर फेरि उम्मेदवारी दिएको उनले उल्लेख गरेका छन्। परिणाम आएपछि पनि साथीहरूको सल्लाह मानेर चुनाव लडेको निर्णय सही भएको महसुस भएको उनले बताएका छन्।

राउत नेतृत्वको जनमत पार्टी २०७९ सालको प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनबाट उदाएको दल हो ।