काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) नेपालका जिल्ला अध्यक्षसहित १६ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । जनकपुरस्थित पार्टीको केन्द्रीय सचिवालय तोडफोड र आगजनी गरेको आरोपमा सीके राउत नेतृत्वको जनमत पार्टीले जसपाका नेता र इन्जिनियरहरूविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको हो ।
जसपा धनुषा अध्यक्ष पशुपति यादव, संघीय परिषद् सदस्य नविन यादव, इन्जिनियरहरू गौरी पण्डित, विजय यादव, सरोज यादव, भवेश मिश्रलगायतमाथि उजुरी दर्ता गराएको जनमत पार्टीले जनाएको छ । पाँच दिनअघि नै उनीहरुविरुद्ध उजुरी दर्ता गरिएको थियो । तर, पनि प्रहरीले कसैलाई हालसम्म पक्राउ गरेको छैन ।
केन्द्रीय सचिवालयमा तोडफोड र आगजनी गरेकाहरूलाई पक्राउ गरेर कारबाही गर्न उजुरी दर्ता गराएको र अडिओ/भिडिओ प्रमाणसमेत प्रहरीमा पेस गरेको डा. राउतले जानकारी दिए । ‘नेपाल प्रहरीले यथाशीघ्र कारबाही गरोस्, अन्यथा आक्रोशित जनताले केही कारबाही गरे हामी जिम्मेवार हुने छैनौँ,’ उनले भने ।
आगजनीजस्तो जघन्य अपराधमा एउटा राजनैतिक पार्टीसँग आबद्ध केही इन्जिनियरहरू समेत संलग्न देखिएको भन्दै राउतले काउन्सिलले यथाशीघ्र उनीहरुको लाइसेन्स खारेज गर्नुपर्ने माग गरेका छन् ।




प्रतिक्रिया