काठमाण्डु – भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतको हत्या गर्ने चेतावनी दिएकी छन् ।
बुधबार बलिदानी दिवसको अवसरमा रौतहटको गौरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जसपाकी नेतृ समेत रहेकी मन्त्री यादवले सिके राउतलाई गौर काण्ड भएकै राइस मिलमा घेरेर हत्या गर्ने चेतावनी दिएकी हुन् ।
हिन्दी भाषामा भाषण गरेकी उनले राउतलाई चेतावनी दिँदै भनेकी थिइन्, ‘गौर नरसंहारको इतिहास राइस मिल जिवीत छ । गौरमा फँणा देखाउने प्रयास नगर । यहाँ लाठी भाँच्न मानिसले जानेका छन् । तुफानसँग टकराउने प्रयास नगर । तुफानसँग भिड्न आए तपाईंको उही हालत हुनेछ जे गौरको राइस मिलमा भएको थियो ।’
गौरमा आयोजित कार्यक्रममा पुगेकी मन्त्री यादवलाई त्याँहाका किसानहरुले लखेटेका थिए । किसानहरु आन्दोलित भएको बेला मन्त्री यादव गौर पुग्दा किसानहरुले उनलाई लखेटेका हुन् । किसानहरुले विरोध गर्दै लखेटेपछि आक्रोशित भएकी उनले सिके राउत र किसानहरुको हत्या गर्ने धम्की दिएकी हुन् ।
बहालवाला मन्त्रीले नरसंहार मच्चाउने र एउटा पार्टीको अध्यक्षको हत्या गर्ने खुलेआम धम्की दिनु सामान्य घटना होइन । पदीय मर्यादा विपरित हिंसा भड्काउने अभिव्यक्ति दिएपछि उनको सर्वत्र आलोचना भइरहेको छ ।
के हो गौर नरसंहार ?
तत्कालीन माओवादी समर्थित मधेसी राष्ट्रिय मुक्ति मोर्चा र उपेन्द्र यादवले नेतृत्व गरेको तत्कालीन मधेसी जनअधिकार फोरमबीच एकै स्थानमा कार्यक्रम गर्ने विषयमा विवाद हुँदा भएको झडपमा २७ जना माओवादी कार्यकर्ताको मृत्यु भएको घटनालाई गौर नरसंहार भनेर चिनिन्छ ।
उक्त घटना २०६३ चैत ७ गतेका दिन दिउँसो गौरको राइस मिलमा भएको थियो । उक्त घटनामा ५३ जना घाइते भएका थिए ।
यस्तो छ मन्त्री यादवको हिंसा भड्काउने अभिव्यक्ति
गौरमा राइस मिल अहिले पनि जिवित छ । फणा देखाउने प्रयास नगर । यहाँ लाठी भाँच्न मानिसले जानेका छन् । तुफानसँग टकराउने प्रयास नगरे हुन्छ । यो गौर ऐतिहासिक जिल्ला हो । बलिदानी दिवसमा हिंसा गर्नु छैन, आज हामी बलिदानी दिवस मनाउन आएका छौं ।
तुफानसँग टकराउने प्रयास गर्यो भने त्यही हालत हुन्छ जुन गौरको राइस मिलमा भएका थियो । त्यो इतिहास डाक्टर साब (सिके राउत) ले नभुलुन् । नत्र तपाईंका कार्यकर्ता मारिन्छन्, तपाईंलाई पनि घेराबन्दी गरेर मारिदिन्छन् । हत्या हुन्छ, सतर्क रहनुस् । डाक्टरसाबलाई म चेतावनी दिन्छु, यदि कलेजोमा ताकत छ, गाई भैंसीको दूध खाएको छ भने सिंहदरबारमा गएर घेराउ गर्नुस् । तर, जसको नसमा गाई र भैँसीको दूधको रगत बगेको छ, यसलाई फासफुस कहिल्यै पनि हुँदैन, लड्ने प्रयास नगर्दा बेस हुन्छ ।




प्रतिक्रिया