लहानमा सीके राउतको गोप्य बैठक, परिषद्का सदस्यहरुको मोबाइल समेत निषेध


लहान – सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनको राष्ट्रिय परिषद् बैठक सिरहाको लहानमा शुरु भएको छ ।  गठबन्धनका तर्फबाट संयोजक राउतले सरकारसँग गरेको ११ बुँदे सहमतिपछि अगामी रणनीतिको विषयमा छलफल गर्न परिषद् बैठक बोलाएका हुन् ।

बैठक सिरहाको लहान मरवारी सेवा आश्रममा बसिरहेको हो । बैठकमा तराई मधेस अन्तर्गत हरेक जिल्लाका दुईदेखि तीन जना र गठबन्धनका केन्द्रीय पदाधिकारीसहित करिब ९० जना सहभागी रहेका छन्।

स्वतन्त्र मधेशको एजेण्डा छाडेको भन्दै सहमतिपछि गठबन्धनभित्र केही नेताले असन्तुष्टि जनाइरहेका छन् । कतिपय कार्यकर्ताले त धोका भएको भन्दै यो कुरा सिके राउत समक्ष राखिसकेका छन् ।  गठबन्धनले राममनोहर यादवलाई सहिद घोषणा गराउन नसकेकोमा पनि थुप्रै कार्यकर्ताहरुले चित्त दुखाएका छन् ।

यी सबै विषयमा सिके राउतले दुई दिनसम्म चल्ने बैठकमा चित्त बुझाउने प्रयास गर्ने स्रोतको दावी छ ।  बैठक वरिपरी सुरक्षा व्यवस्था कडा पारिएको छ । यहाँसम्म कि परिषद्का सदस्यहरुको मोवाइल समेत बैठकस्थलभित्र निषेध गरिएको छ । उनीहरुको नागरिकता वा अन्य पहिचान खुल्ने प्रमाणपत्र हेरेर मात्र भित्र छिर्न दिइएको छ ।

बैठकमा उपत्यका सहिद २३ जिल्लाका कम्तीमा २०० जनाको सहभागिता रहेको बताइएको छ । बैठक भोलिसम्म चल्नेछ । बैठकपछि राउतलाई लहानमै शक्ति प्रदर्शन सहित नागरिक अभिनन्द गर्ने कार्यक्रम रहेको छ । सरकारले गठबन्धनसँग फागुन २२ गते ११ बुँदे सम्झौता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement