मंगलबार मौसममा सुधार

मंगलबार मौसममा सुधार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- विगत केही दिनदेखि सक्रिय रहेको मनसुन कमजोर भई मौसममा सुधार भएको छ ।  नेपालको तराई भूभाग नजिक रहेको मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतिर सरेकाले मनसुन मंगलबार केही कमजोर भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  विभागका मौसमविद् सविना शाक्यका अनुसार अब केही दिन मनसुन कमजोर रहने भएकाले निरन्तरको भारी वर्षाको सम्भावना छैन ।

हाल देशभर सामान्य बदली  रही प्रदेश नं १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । राति देशभर सामान्य बदली रही केही  स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै वाग्मती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन-चट्याङसहित भारी वर्षाको सम्भावना छ । 

बुधबार देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना औँल्याएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाण्डु उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव ६ डिग्री र अधिकतम तापक्रम २८ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । 

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १४ दशमलव ८ डिग्री र सबैभन्दा धेरै धनगढीको अधिकतम तापक्रम २९ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।