क्लब डेजाभूमाथि राजस्व छलीमा अनुसन्धान हुँदै


काठमाडौं – पटकपटक विवादमा पर्दै आएको क्लब डेजाभूमाथि सरकारले राजस्व ठगी गरेको बारेमा छानविन गर्ने भएको छ । लामो समयदेखि उक्त क्लब सञ्चालनमा रहे पनि राज्यलाई तिर्नुपर्ने करोडौं राजस्व नतिरेको पाइएपछि छानविन प्रक्रिया अगाडि बढाउन लागेको हो । सो क्लबले बिभिन्न देशका डीजेहरुलाई नेपाल ल्याउने तर राज्यलाई तिर्नुपर्ने मनोरञ्जन करसमेत नतिरेको फेला परेपछि प्रहरीले क्लबमाथि छानविन गर्ने क्रमलाई अगाडि बढाएको छ ।

सो क्लवका सञ्चालक प्रतीक हवल्दार भनेर चिनिने प्रतीक श्रेष्ठ, समीप शिलाकार र जयन भनिने प्रवेश श्रेष्ठलाई ठगीको अभियोगमा १२ दिनअघि महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको थियो । सो क्लबमा लगानी गरेका दोलखाका विश्वराम श्रेष्ठको २ करोडभन्दा बढी रकम नदिएपछि श्रेष्ठले प्रहरीमा जाहेरी दिएका थिए । प्रहरीले श्रेष्ठको जाहेरीको आधारमा उनीहरुलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको थियो ।
महानगरीय प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक होबिन्द्र बोगटीले पक्राउ परेका व्यक्तिहरुमथि छानविन भइरहेको जानकारी दिनुभयो ।

प्रहरीले ठगीको अभियोगमा कारबाही अगाडि बढाइरहेको बेला उनीहरुले राजस्व समेत ठगी गरेको फेला पारेको थियो । प्रहरीको अनुसन्धानलाई प्रभावित पार्न थुनामा रहेका क्लवका सञ्चालकका आफन्तले नेकपाका नेतालाई प्रयोग गरेर छिटो मुद्दा बुझाउन दबाब दिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले जानकारी दिए । प्रहरीले ठगी गरेको प्रमाणका बारेमा छानविन गर्ने क्रममा क्लवको आम्दानी अध्यधिक देखिएको तर राजस्व भने न्यून मात्रामा तिरेको फेला पारेपछि आन्तरिक राजस्व कार्यालयलाई जानकारी गराएपछि उनीहरु प्रहरी माथि दबाब दिन नेताकहाँ धाउन थालेका हुन् ।

ठगीको अभियोगमा पक्राउ परेका विरुद्ध प्रहरीले २४ दिनसम्म अनुसन्धान गर्न पाउने क्षेत्राधिकार भए पनि राजनीतिक दबाबका कारण उनीहरुलाई छिट्टै प्रहरीले अदालतमा पेस गर्ने तयारीसमेत गरेको छ । प्रहरीलाई छिटो मुद्दा बुझाइदिन पक्राउ परेका क्लबका सञ्चालकहरुले दबाब दिएका छन् भने आफूहरुले अदालतसमेत सेटिङ गरेको भन्दै थुनुवा कक्षमा भेट्न आउने आफन्त र साथीहरुलाई बताउने गरेको पत्ता लागेको छ ।

उनीहरुले नेकपाका नेतामार्फत काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी वसन्त लामालाई पटकपटक दबाब दिएको भए पनि एसएसपी लामाले भने अनुसन्धान पूरा गरेपछि मात्रै मुद्दा बुझाउन मातहतको निकायलाई निर्देशन दिइएको बताइएको छ । महिनाकै खुद नाफा ७० देखि ७३ लाखसम्म हुने गरेको सो क्लवले वर्षभरि ७० लाख नाफा हुने गरेको वासलात बुझाएको देखिन्छ ।

उनीहरुको आन्तरिक वासलातमा भने एकै महिनामा ७० देखि ७३ लाखसम्म नाफा भएको देखाइएकाले राज्यलाई तिर्नुपर्ने करमा समेत उनीहरुले ठगी गरेको देखिएको प्रहरीको अनुसन्धानमा देखिन्छ । प्रहरीले उनीहरुलाई आज बुधबार म्याद थपका लागि अदालतमा उपस्थित गराउने तयारी गरे पनि उनीहरुले नेतालाई दबाब दिएर फाइल पनि एकैपटक बुझाउन दबाब दिएको स्रोतले जानकारी दिएको छ ।

पटकपटक संगठित रुपमा ठगी गर्दै आएका सो क्लबका सञ्चालकहरुले आफू फस्ने भएपछि अर्काको नाममा शेयर राख्दै आएका उनीहरुविरुद्ध यसअघि पनि अमेरिकन डीजे मार्समेलो काण्डमा समेत मुछिएको र उनीहरु फरारको सूचीमा रहेको फेला पारेपछि प्रहरीले सो विषयमा समेत थप अनुसन्धान गर्ने भएको छ । यो खबर आजको समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement