काठमाण्डु – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अवैध रूपमा सञ्चालित ४ निजी अस्पताललाई बन्द गराएका छन् ।
आईतबार जनकपुरधामस्थित निजी अस्पतालको अनुगमन गर्दै उनले ४ वटा अस्पताल बन्द गरेका छन् ।
मधेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधनप्रसाद सिंह र मन्त्रालयका अधिकारीहरूसहित ९ वटा अस्पतालमा पुगेर मुख्यमन्त्री सिंहले अनुगमन गरेका थिए ।
जनकपुरधामको ब्रह्मपुरीस्थित कृष्णा मेडिकल एन्डटेक्निकल रिसर्च सेन्टर, ब्रह्मपुरीमै रहेको गीताश्री इएनटी स्पेसियालिटी क्लिनिक प्रालि, नवजीवन हस्पिटल, साकेतनगरस्थित वैदेही हस्पिटल प्रालि, जनक मेमोरियल हस्पिटल, जनकपुर मोडल हस्पिटल, रामानन्दचोक नजिकका जनकपुर गोदावरी हस्पिटल, कृष्ण हस्पिटल प्रालि र एडभान्स सिटी स्क्यानको अनुगमन गरेका छन् ।
अनुगमन गरिएका अस्पतालमध्ये जनक मेमोरियल हस्पिटल, जनकपुर मोडल हस्पिटल जनकपुर, गोदावरी हस्पिटल र कृष्णा हस्पिटल प्रालिलाई बन्द गरिएको छ ।
ब्रह्मपुरीस्थित कृष्णा मेडिकल एन्डटेक्निकल रिसर्च सेन्टरलाई फोहोरमैला छुट्टै व्यवस्थापन गर्न निर्देशन दिइएको छ । दर्ता विना सञ्चालनमा रहेको ब्रह्मपुरीस्थित गीताश्री इएनटी स्पेसियालिटी क्लिनिक प्रालिलाई कागजपत्र लिएर सोमबार बिहान ११ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बोलाइएको छ ।
ब्रह्मपुरीस्थित नवजीवन हस्पिटलले गत ४ वर्षदेखि र वैदेही हस्पिटल प्रालिले २ वर्षदेखि नवीकरण नगराएकाले सोमबार बिहान ११ बजे कागजपत्रसहित सञ्चालकलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइएको छ ।
एडभान्स सिटी स्क्यानले २ वर्ष ६ महिनादेखि नवीकरण नगराएको पाइएको छ । बन्द गरिएको जनकपुर मोडल हस्पिटलका सञ्चालकलाई अस्पतालमा जडान गरिएका सीसीटीभीका शनिबार र आईतबारका फुटेज लिएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बोलाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अस्पताल अनुगमन समितिका सदस्य सचिव सन्तोष ठाकुरले जानकारी दिए ।
बन्द अवस्थामा पनि अस्पतालमा बिरामीको उपचार भइरहेको आशंकामा अस्पताल सञ्चालकलाई सीसीटीभी फुटेजसहित बोलाइएको ठाकुरले जानकारी दिए ।
प्रतिक्रिया