समृद्ध नेपाल बनाउन दत्तचित्त भएर लागौं : अध्यक्ष प्रचण्ड


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अझ सुदृढ राष्ट्रिय एकता आजको आवश्यकता भएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालयद्वारा बुधबार काठमाडौको भृकुटिमण्डपमा आयोजित चियापान एवं शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

अध्यक्ष प्रचण्डले जनताको विकास र समृद्धिको आकांक्षा पूरा गर्नको लागि राजनीतिक दलहरुबीच सुदृढ सम्बन्ध र एकता हुनुपर्ने औंल्याए । उनले भने, ‘हामीले नयाँ संकल्पको साथ अघि बढ्नुपर्ने छ । राष्ट्रिय एकताको उचाईको साथ लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै विकास र समृद्धिको आकांक्षा पूरा गर्न जरुरी छ ।’

‘अहिलेको अवस्थामा आइपुग्न करोडौं जनताको सहभागिता रहेको छ, कुनै दल बिशेषको नभइ संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल र नेपाली जनताको हो,’ उनले अगाडी भने, ‘संघीय लोकतान्त्रीक गणतन्त्र सहितको संविधान जारी भएपछि सम्पन्न तीन तहको निर्वाचनबाट सातदशक लामो आन्दोलनको उपलव्धी संस्थागत भएको छ ।’ उनले नेपालमा भएको परिवर्तनले गर्व गर्ने मौका पाएका बताउँदै लामो युद्धको अन्तैसँग भएको राजनीतिक स्थायित्व आफैंमा सकारात्मक भएको बताए ।

नेकपा र वर्तमान सरकारको ध्यान समाजवादउन्मुख राज्यको निर्माण र समृद्ध नेपाल सुखी नेपालीको नारा साकार पार्न केन्द्रित रहेको उनको भनाई थियो । उनले गत वर्ष कानून निर्माणको बर्ष रहेको र यस अवधिभर अन्तराष्ट्रिय सम्बन्ध थप उचाईमा पु(याउन केन्द्रित रहेको बताए । राष्ट्रपतिको भ्रमणमा भएको सहमझारी नेपालको बिकासको कोशेढुङ्गा र बिकासको नयाँ युगतर्फ नेपाल प्रवेश गरेको बताए ।

अध्यक्ष प्रचण्डले चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने नेपालको राजकीय भ्रमण पूर्ण रुपमा सफल भएको बताउँदै भने, ‘भारत, चीन र नेपालबीच त्रिदेशीय साझेदारीको रणनीतिअनुसार अघि बढ्नुपर्छ । मैले यो विषय भारतको गोवामा भएको ब्रिक्स सम्मेलनमा भाग लिन जाँदा पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सीको उपस्थितिमा कुरा उठाएका थिएँ । अहिले त्रिदेशीय साझेदारी खासगरी आर्थिक विकासको रणनीतिको कुरा भारत र चीनले पनि उठाउन थालेका छन् । यसमा राजनीतिक रुपमा त्यो समझदारी बनेको छ । नयाँ परिस्थिति बन्न थालेको छ । नेपालीको काँधमा ठूलो जिम्मेवारी छ ।’

अध्यक्ष प्रचण्डले चियापानले राजनीतिक सहमति र सहकार्यको वातावरण बन्ने विश्वास व्यक्त पनि गरे । अध्यक्ष प्रचण्डले भने, ‘हिजो हामीले सहमतिमा युद्धलाई शान्तिमा रुपान्तरण गर्यौं, जसले मिलेर संविधान बनायौं । जसको सहमतिबाट निर्वाचन सम्पन्न गरेर राजनीतिक स्थायित्वको वातावरण बनायौं । हाम्रो काँधमा अब यो देशलाई समृद्ध नेपाल बनाउने अभिभारा छ । हामी यसमा दत्तचित्त भएर लाग्नुपर्छ ।’ उनले विकास र समृद्धिको नयाँ युगमा नेपाल प्रवेश गर्न लागेको बताएका छन् ।

मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको यात्रामा अघि बढिसकेकोले परिवर्तनको विरुद्धमा कसैले पनि औंला उठाउन नसक्ने पनि प्रचण्डको भनाई छ । उनले भने, ‘यो परिवर्तनको बारेमा विभिन्न कोणबाट टिकाटिप्पणी हुनु सामान्य हो, तर उपलब्धि र हामीले हाासिल गरेको यो परिवर्तनलाई कसैले चुनौती दिन सक्ने अवस्था छैन् । यो परिवर्तन, यो संविधान, विकास र समृद्धिको नारामा हामी एकमत छौं ।’

प्रतिक्रिया दिनुहोस
Advertisement