रोशन खड्का, काठमाडौं
नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल चीन भ्रमणमा जाने पक्का भएको छ । प्रधानसेनापति नियुक्त भएपछि उनी पहिलोपटक चीन भ्रमण गर्न लागेका हुन् । सिग्देललाई चीनबाट ११ औं बेइजिङ सियाङशान फोरममा सहभागी हुन निमन्त्रणा आएको हो । फोरममा सहभागी हुनुअघि उनलाई बेइजिङ भ्रमण गराउने तयारी चीनले गरेको छ । त्यसको लागि नेपाली सेनाले स्वीकृतिका लागि पत्र रक्षा मन्त्रालयमा पठाइसकेको छ ।
प्रधानसेनापतिले बेइजिङमा चिनियां रक्षा मन्त्रीसहित उच्च सैन्य अधिकारीहरूसंग भेटवार्ता गर्ने कार्यक्रम समेत तय भएको छ । यस क्रममा दुई पक्षीय हितका विषयमा छलफल हुनुका साथै सैनिक सहकार्यबारे समझदारी हुने अपेक्षा गरिएको छ ।
सेप्टेम्बर १७ देखि सुरु हुने सियाङशान फोरम सेप्टेम्बर १९ मा समापन हुनेछ । फोरममा प्रधानसेनापति सिग्देलले सम्बोधन गर्ने कार्यक्रम समेत रहेको सैनिक स्रोतले जनाएको छ ।
‘उहां फोरममा सहभागी हुनुभन्दा दुई–तीन दिनअघि नै बेइजिङ पुग्ने र आफ्ना चिनियां समकक्षीसंग द्विपक्षीय भेटवार्ता गर्ने तयारी भइरहेको छ । ’ सैनिक स्रोतले भन्यो ।
हरेक वर्ष बेइजिङमा आयोजना हुने यस फोरममा एसिया–प्रशान्त क्षेत्रका सेनाप्रमुख, रक्षा मन्त्री र सुरक्षा विशेषज्ञहरूको सहभागिता हुने गर्दछ । सुरक्षा संवाद, सैन्य साझेदारी र बहुपक्षीय सहयोगबारे छलफल हुने यो फोरम चीनले २००६ देखि शांग्रिला संवादको विकल्पका रूपमा अघि बढाउंदै आएको हो ।
यसअघि, प्रधानसेनापति सिग्देल भारत भ्रमणमा नयां दिल्ली पुगेका थिए । भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको निमन्त्रणामा उनी गत मंसिर २६ गते चार दिने भारत भ्रमणमा गएका थिए ।
सिग्देल २०८१ साल भदौ २४ गते नेपाली सेनाको प्रधानसेनापति नियुक्त भएका हुन् । सोही वर्ष चीनले उनलाई भ्रमणका लागि निमन्त्रणा दिएको भए पनि उनले त्यो वर्ष चीन भ्रमण गरेका थिएनन् ।
थाइल्याण्ड जांदै प्रधानसेनापति सिग्देल
प्रधानसेनापति सिग्देल इण्डो-प्यासिफिक क्षेत्रका सेनापतिको सम्मेलन (CHOD) मा सहभागी हुन थाइल्याण्ड प्रस्थान गर्ने भएका छन् । थाइल्याण्डको हुआ हिनमा आयोजना हुने उक्त सम्मेलनमा सहभागी हुन उनी भदौ ११ गते प्रस्थान गर्ने कार्यक्रम तय भएको सैनिक प्रवक्ता सहायकरथी राजाराम बस्नेतले जानकारी दिए ।
थाइल्याण्डका सेनापति जनरल सङ्पाक्दी नूनपाक्दी र अमेरिकी सेनाको इण्डो–प्यासिफिक कमाण्डका प्रमुख एडमिरल सामुएल पापाराको संयुक्त निमन्त्रणामा सेनापति सिग्देल उक्त सम्मेलनमा सहभागी हुन लागेका हुन् ।
दुई दिनसम्म चल्ने सम्मेलनमा क्षेत्रीय सुरक्षा, साइबर सुरक्षा र संयुक्त संकट व्यवस्थापनका विषयमा छलफल हुने कार्यक्रम रहेको छ । यसअघि अमेरिकाको कोना शहरमा उक्त सेनापतिको सम्मेलन भएको थियो । जसमा २८ देशका सेनाप्रमुख र वरिष्ठ सैन्य अधिकारीहरूको सहभागिता रहेको थियो ।




प्रतिक्रिया