काठमाण्डु – सरकारले कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा आइतबार ३ लाख ४८ हजार डोज कोरोना खोप नेपाल ल्याउने भएको छ ।
शनिबार कोरोना खोपसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले कोभ्याक्स सुविधाअन्तर्गतको पहिलो चरणमा आइतबार कोरोना खोप नेपाल आइपुग्ने जानकारी दिएका हुन् ।
कोभ्याक्स सुविधाअन्तर्गत आइतबार आउने कोरोना खोप भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड नै हो । यसअघि भारतले नेपाललाई १० लाख मात्रा कोभिसिल्ड खोप अनुदानमा दिएको थियो ।
साथै आइतबार बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले खोप लगाएर दोस्रो चरणको अभियानको सुरु गर्ने भएका छन् ।
सरकारले आइतबारबाट हुने दोस्रो चरणको अभियानमा ६५ वर्षमाथिका वृद्धवृद्धालाई मात्रै कोरोना भाइरसविरुद्धको खोप दिने भएको छ । यसअघि ५५ वर्षमाथिका नागरिक, विद्यालयका शिक्षक, सार्वजनिक यातायातमा काम गर्ने चालक र सहचालकलाई कोरोनाविरुद्धको खोप लगाउने घोषणा गरिएको थियो ।




प्रतिक्रिया