पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीमाथीको मुद्दा अख्तियार पठाउने सेनाको तयारी


काठमाडौं- ठुल्ठूला विकास, निर्माणसम्बन्धी आयोजना र प्राविधिक क्षेत्रमा भ्रष्टाचारकाण्डले सेनाभित्र लहरो तान्दा पहरो गर्जिने स्थिति उत्पन्न भएको छ । तीनतारे जर्नेल शरद् गिरीले हेटौंडा–काठमाडौं फास्ट ट्रयाकको भ्रष्टाचारसम्बन्धी छानवीन टुंग्याएर रिपोर्ट बुझाइसकेपछि पनि अर्का जर्नेललाई यो काम हेर्ने जिम्मा दिई दोषीमाथि दु्रत गतिमा कारबाही गर्न खोजिँदै छ । सम्भार तथा प्रबन्ध रथी, अर्थात्, सेनाको निम्ति खरिद–बिक्रिका सारा मामिला हेर्ने जर्नेल रघु भण्डारीको कांधबाट प्रबन्धरथीको जिम्मेवारी भर्खरै सारिएको छ ।

सर्टिफिकेट काण्ड लागेर बालबाल बचेका अशोक सिग्देललाई अनुृशासन हेर्ने युनिट निरीक्षणाधिकृतसंगै प्रबन्ध रथीको पनि काम थपी रघुलाई भ्रष्टाचारको मामिला हेर्न कामको बोझ घटाइएको हो । यसको मतलब पुसको १३ गतेभित्र दुईतारे जर्नेलसमेत समातिने गरी अनुसन्धान टुंग्याउनका निम्ति हुनुपर्छ । यस प्रकरणमा प्रधानसेनापतिले अन्य निकायबाट समेत कारबाही हुने संकेत दिएका छन् । अर्थात्, बहालवाला सेनाको हकमा ६ महिना कटिसकेपछि अर्कै कानुन आकर्षित हुने व्यवस्था छ ।

‘नेपाल सरकारको सम्बन्धित निकायमार्फत कारवाहीका लागि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने’ भन्ने व्यवस्थाअनुसार केही उच्चपदस्थ सैनिक अधिकारी भूपू भैसके तापनि अदालत र अख्तियारको झन्झटमा पर्ने भएका हुन् । त्यसमध्ये फास्ट ट्रयाक हिनामिना प्रकरणमा बयान लिइएका प्राविधिक जर्नेल योगेन्द्र खांणमाथि छानवीन शुरु भएको ६ महिने म्याद पुसमा नाघ्दै छ । काण्ड बाहिर आएपछि अमेरिका उडेका पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीको हकमा सरकारमार्फत् अख्तियार पठाउने काम हुनसक्छ । सामान्यतया अख्तियारले अदालत र सेनाका मामिला हेर्दैन ।

तर, ती निकायले हेर्ने गरी पठाएमा प्रचलित कानुनबमोजिम कारवाही गर्ने अधिकार छ । भ्रष्टाचार काण्ड लागेर ०५१ सालको एमाले सरकारका पालामा राजीनामा दिने एकमात्र प्रधानसेनापति गडुलसमशेर राणा थिए । उनैको पालामा भ्रष्टाचार प्रकरणमै २ तारे जर्नेल योगेन्द्रप्रताप राणालाई पदबाट च्युत गरिएको थियो । अहिले अर्का दुई तारे योगेन्द्र, अर्थात् खाँण भ्रष्टाचारमा परेका छन् । आजको जनआस्था साप्ताहिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement