सेनाका सेकेण्ड म्यान फिजीमा, इन्डो प्यासिफिक आर्मी चिफ सम्मेलनमा सहभागी हुन् प्रभुराम दिल्ली जाने

सेनाका सेकेण्ड म्यान फिजीमा, इन्डो प्यासिफिक आर्मी चिफ सम्मेलनमा सहभागी हुन् प्रभुराम दिल्ली जाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा इण्डो प्यासेफिक क्षेत्रका चिफहरुको सम्मेलनमा सहभागी हुने भएका छन् । भारतको राजधानी नयां दिल्लीमा आयोजना हुन लागेको सम्मेलनमा शर्मा असोज ८-१० मा नयां दिल्ली जाने भएका हुन् ।

अमेरिकी सेनाको इण्डोप्यासेफिक कमाण्ड र भारतीय सेनाको आयोजनामा हुन लागेको उक्त सम्मेलनमा प्यासेफिक क्षेत्रका सेनापतिहरु सहभागी हुनेछन् । नेपाली सेनाका प्रवक्ता सहायकरथी कृष्णप्रसाद भण्डारीले प्रधानसेनापति शर्मा इण्डो प्यासेफिक क्षेत्रका चिफहरुको सम्मेलनमा सहभागी हुने निश्चित भएको जानकारी दिए ।

दिल्लीमा हुने उक्त सम्मेलनमा सैनिक अधिकारीहरुले आ आफ्नो क्षेत्रमा भोगेका समस्या,मतभेदहरु,चुनौतीहरुको समाधान गर्न र बहुराष्ट्रिय सैनिकहरुको बिचमा समानता खोज्न सहयोग पुग्ने विश्वास गरिएको छ । क्वाडजस्ता महत्वपूर्ण संस्थाहरुको प्रतिनिधित्व गरिएको इण्डो प्यासेफिकमा संयुक्त राज्य अमेरिकाको बहुपक्षीय सुरक्षा साझेदारीलाई अघि बढाउनको लागि एक महत्वपूर्ण कोसेढुंगा मानिदै आएको छ ।

शर्माको सहभागिताले क्षेत्रीय सहयोगलाई बढावा दिन र छिमेकी देशहरूसँग कूटनीतिक सम्बन्ध अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास गरिएको छ । इन्डो प्यासिफिक आर्मी चिफ सम्मेलन एक प्रमुख फोरम हो जहां सैन्य नेताहरू बीच अन्तर्दृष्टि, दृष्टिकोण र रणनीतिक विचारहरूको आदानप्रदान गर्न मद्दत गर्दछ । सेनापति शर्माले अमेरिकी सेना र भारतीय सेनाका समकक्षीसंग समेत भेटवार्ता गर्ने कार्यक्रम छ ।

शर्माको भारतीय सेनाका समकक्षीसंग द्धिपक्षिय हितका बारेमा समेत छलफल गर्ने कार्यक्रम तय भइसकेको छ । प्रधानसेनापति शर्मा भारतको भ्रमणलगत्तै चीन भ्रमणमा जाने तयारीमा छन् । उनको भ्रमण अक्टोम्बरमा तय भइसकेको छ ।

अमेरिकी सेनाको इण्डो प्यासेफिक कमाण्ड र फिजी मिलिटरी फोर्सेसको आयोजनामा फिजीमा भइरहेको चिफ अफ डिफेन्स सम्मेलन(चोड) मा सहभागी हुन सेनाका बलाधिकृतरथी सरोजप्रताप राणा अहिले त्यहां पुगेका छन् । प्रधानसेनापतिको प्रतिनिधित्व गर्दै राणा शनिवार फिजी प्रस्थान गरेका हुन् ।