सेनाका सेकेण्ड म्यान फिजीमा, इन्डो प्यासिफिक आर्मी चिफ सम्मेलनमा सहभागी हुन् प्रभुराम दिल्ली जाने


काठमाण्डु – नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा इण्डो प्यासेफिक क्षेत्रका चिफहरुको सम्मेलनमा सहभागी हुने भएका छन् । भारतको राजधानी नयां दिल्लीमा आयोजना हुन लागेको सम्मेलनमा शर्मा असोज ८-१० मा नयां दिल्ली जाने भएका हुन् ।

अमेरिकी सेनाको इण्डोप्यासेफिक कमाण्ड र भारतीय सेनाको आयोजनामा हुन लागेको उक्त सम्मेलनमा प्यासेफिक क्षेत्रका सेनापतिहरु सहभागी हुनेछन् । नेपाली सेनाका प्रवक्ता सहायकरथी कृष्णप्रसाद भण्डारीले प्रधानसेनापति शर्मा इण्डो प्यासेफिक क्षेत्रका चिफहरुको सम्मेलनमा सहभागी हुने निश्चित भएको जानकारी दिए ।

दिल्लीमा हुने उक्त सम्मेलनमा सैनिक अधिकारीहरुले आ आफ्नो क्षेत्रमा भोगेका समस्या,मतभेदहरु,चुनौतीहरुको समाधान गर्न र बहुराष्ट्रिय सैनिकहरुको बिचमा समानता खोज्न सहयोग पुग्ने विश्वास गरिएको छ । क्वाडजस्ता महत्वपूर्ण संस्थाहरुको प्रतिनिधित्व गरिएको इण्डो प्यासेफिकमा संयुक्त राज्य अमेरिकाको बहुपक्षीय सुरक्षा साझेदारीलाई अघि बढाउनको लागि एक महत्वपूर्ण कोसेढुंगा मानिदै आएको छ ।

शर्माको सहभागिताले क्षेत्रीय सहयोगलाई बढावा दिन र छिमेकी देशहरूसँग कूटनीतिक सम्बन्ध अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास गरिएको छ । इन्डो प्यासिफिक आर्मी चिफ सम्मेलन एक प्रमुख फोरम हो जहां सैन्य नेताहरू बीच अन्तर्दृष्टि, दृष्टिकोण र रणनीतिक विचारहरूको आदानप्रदान गर्न मद्दत गर्दछ । सेनापति शर्माले अमेरिकी सेना र भारतीय सेनाका समकक्षीसंग समेत भेटवार्ता गर्ने कार्यक्रम छ ।

शर्माको भारतीय सेनाका समकक्षीसंग द्धिपक्षिय हितका बारेमा समेत छलफल गर्ने कार्यक्रम तय भइसकेको छ । प्रधानसेनापति शर्मा भारतको भ्रमणलगत्तै चीन भ्रमणमा जाने तयारीमा छन् । उनको भ्रमण अक्टोम्बरमा तय भइसकेको छ ।

अमेरिकी सेनाको इण्डो प्यासेफिक कमाण्ड र फिजी मिलिटरी फोर्सेसको आयोजनामा फिजीमा भइरहेको चिफ अफ डिफेन्स सम्मेलन(चोड) मा सहभागी हुन सेनाका बलाधिकृतरथी सरोजप्रताप राणा अहिले त्यहां पुगेका छन् । प्रधानसेनापतिको प्रतिनिधित्व गर्दै राणा शनिवार फिजी प्रस्थान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement