काडमाण्डु – भारतीय सर्वोच्च अदालतका प्रधानन्यायाधीश सूर्यकान्तले युवा र साङलालाई एक अर्कासँग तुलना गरेको अभिव्यक्तिपछि भारतमा फैलिएको अभियान अहिले चर्चाको विषय बनेको छ ।
प्रधानन्यायधीश सूर्यकान्तले शनिबार आफ्नो टिप्पणीमाथि स्पष्टीकरण दिँदै मिडियाको एउटा तप्काले आफ्नो कुरालाई गलत तरिकाले प्रस्तुत गरेको दाब त गरे तर उनको बयानपछि सुरु भएको व्यंग्यात्मक सामाजिक सञ्जाल अभियानले भने व्यापक रूप लिइसकेको छ ।
प्रधानन्यायाधीश सूर्यकान्तले एक मुद्दाको सुनुवाइका क्रममा केही बेरोजगार युवाहरूलाई साङ्लासँग तुलना गरेका थिए । जसबाट युवा आक्रोश बढेको छ ।
सूर्यकान्तले भनेका थिए, ‘केही युवा कक्रोचजस्तै हुन्छ । जो जागिर पाउँदैनन्, उनीहरू मिडिया, सोसल मिडिया वा आरटीआई अभियन्ता बनेर सिस्टममाथि आक्रमण गर्छन् ।’
आक्रोश यतिसम्म बढ्यो कि यहि व्यंग्यात्मक अभियानको केन्द्रमा रहेर ‘ककरोच जनता पार्टी’ (सीजेपी) गठन भएको छ ।
पार्टी गठन भएको पाँच दिनमै सामाजिक सञ्जालमा लाखौं फलोअर्स प्राप्त गरेको छ । बिहीबार बिहानसम्ममा यो संख्या इन्स्टाग्राममा १ कराेड भन्दा बढी र ट्विटरमा लगभग एक लाख ६०,००० नाघेको छ । जसकी सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को इन्स्टाग्राममा ८७ लाख फलोअर्स छन् भने कांग्रेसको १ करोड ३२ लाख फलोअर्स छन् ।
अनौठा योग्यता
महाराष्ट्रका ३० वर्षीय अभिजीत दिपकेले ककरोच जनता पार्टी स्थापना गरेका हुन् । उनी बोस्टन विश्वविद्यालयमा जनसम्पर्कका विद्यार्थी हुन् । पार्टीको नारा ‘धर्मनिरपेक्ष, समाजवादी, लोकतान्त्रिक, अल्छी’ हो ।
पार्टी सदस्यताको लागि अनौठा चार योग्यता तोकिएको छ । ती हुन् पहिलो– बेरोजगारी, दोस्रो–अल्छी हुनु अर्थात् सुतिरहनु, तेस्रो–अनलाइनको लत र चौथो–व्यावसायिक रूपमा रिस पोख्ने क्षमता ।
५ प्रतिवद्धता
यसका साथै पार्टीले घोषणापत्र जारी गर्दै ५ प्रतिबद्धता पनि जनाएको छ । प्रतिपद्धताअनुसार यदि ककरोच जनता पार्टी सत्तामा आयो भने कुनै पनि प्रधानन्यायाधीशले अवकाशपछि राज्यसभा जाने पुरस्कार पाउने छैनन् । किनभने भारतका ४६औं प्रधानन्यायाधीश रञ्जन गोगोई अवकाशको केही समयमै राज्यसभा सांसद बनेका थिए ।
यदि कुनै वैध मत हटाइयो भने प्रमुख निर्वाचन आयुक्तलाई पक्राउ गरिनेछ किनभने कसैको मतदान गर्ने अधिकार खोस्नु आतंकवादभन्दा कम होइन ।
महिलाका लागि ३३ होइन ५० प्रतिशत आरक्षण हुनु पर्ने पार्टीको घोषणापत्रमा उल्लेख छ । यस उद्देश्यका लागि सांसदहरूको संख्या बढाइने छैन । भने मन्त्रिपरिषदमा पनि महिलाका लागि ५० प्रतिशत आरक्षण हुनेछ ।
स्वतन्त्र मिडियालाई ठाउँ दिन अम्बानी र अदानीको स्वामित्वमा रहेका सबै मिडिया संस्थाहरूको इजाजतपत्र रद्द गरिनेछ । गोदी मिडिया एङ्करहरूको बैंक खाताहरूको छानबिन गरिनेछ । अर्को पार्टीमा लागेका कुनै पनि विधायक वा सांसदलाई चुनाव लड्न र आगामी २० वर्षसम्म कुनै पनि सार्वजनिक पद धारण गर्नबाट वञ्चित गरिनेछ ।
युवाहरूको राजनीतिक मञ्च
सीजेपी आफैंले भने यसलाई युवाका लागि ‘युवाहरूद्वारा बनाइएको युवाहरूको राजनीतिक मञ्च’ का रूपमा दाबी गरेको छ । केही दिनमा यस अभियानमा हजारौँ युवाहरू जोडिने पनि दाबी गरिएको छ ।
सीजेपीले आफूलाई वर्तमान व्यवस्थाबाट निराश मानिसहरूको आवाज’ भएको दाबी गर्छ ।
पार्टीको नामबारे संस्थापक दिपके भन्छन्, ‘कक्रोच जनता पाटी भनेको वि आर कक्रोच पार्टी, वि आर चिल्ड्रेन अफ अ बर्निङ सिटी ।’ सीजेपीले भर्चुअल रूपमै पहिलो जेन–जी सम्मेलन गर्ने पनि बताएको छ ।
दिपकेले आफूहरूको आन्दोलन नेपाल र बंगलादेशका जेन–जीहरूको जस्तो नहुने स्पष्ट पारेका छन् । उनले भने, ‘नेपाल र बंगलादेशमा भएको जेन जी आन्दोलनको तुलना भारतका जेन–जीसँग नगर्नु । यो देशका युवा धेरै परिपक्व, सचेत र राजनीतिक चेतना भएका छन् । उनीहरूलाई आफ्नो संवैधानिक अधिकार थाहा छ, लोकतान्त्रिक र शान्तिपूर्ण रूपमा असहमति राख्ने तौरतरिका पनि राम्रोसँग थाहा छ ।’




प्रतिक्रिया