नयाँदिल्ली– भारतमा जारी प्रदर्शनलाई नेपाल र बंगलादेशमा सत्ता परिवर्तनका लागि भएका आन्दोलनसँग तुलना नगर्न ककरोच जनता पार्टी (सीजेपी) का प्रमुख अभिजित दीपकेले चेतावनी दिएका छन् ।
मंगलबार भिडियो सन्देश जारी गर्दै दीपकेले आफ्नो पार्टीको आन्दोलन शान्तिपूर्ण र अहिंसात्मक रहेको दाबी गरे । उनले पार्टीका कार्यकर्ता सौरव दास र आशुतोष रांकाको गिरफ्तारीलाई गान्धीवादी सत्याग्रहको उदाहरणका रूपमा प्रस्तुत गरे ।
उनले दास र रांका जेल जाँदा पनि मुस्कुराएको उल्लेख गर्दै समर्थकहरूलाई घृणा र आक्रोशबाट टाढा रहन आग्रह गरे । ‘हामीले हिंसाको बाटो रोजेका छैनौँ,’ उनले भने ।
दीपकेले फ्रान्समा भएका हिंसात्मक प्रदर्शनको पनि नाम लिए। नेपाल र बंगलादेशमा सत्ता परिवर्तनसँग जोडिएका आन्दोलनको उदाहरण दिएर भारतको प्रदर्शनलाई त्यही श्रेणीमा राख्न नमिल्ने उनलेे बताए ।
उनले दास र रांकाले गैरकानुनी रूपमा जेल पठाइएको थाहा हुँदाहुँदै पनि शान्तिपूर्वक गिरफ्तारी स्वीकार गरेका थिए । उनीहरू रिहा भएपछि पनि ‘इन्कलाब जिन्दाबाद’ को नारा लगाउँदै महात्मा गान्धीको शान्ति र अहिंसाको बाटोमा अघि बढ्ने दीपकेले बताए ।
दास र रांका २१ अक्टोबरसम्म हिरासतमै
दिल्लीको जन्तरमन्तरमा अक्टोबर १२ मा अनुमति नलिई पुगेको आरोपमा दास र रांका पक्राउ परेका थिए । प्रदर्शन निषेध गरिएको क्षेत्रमा उनीहरू प्रवेश गरेको आरोप छ ।
पक्राउपछि पाँच दिनको न्यायिक हिरासतमा पठाइएका उनीहरूको हिरासत अवधि सोमबार थप दुई दिन बढाएर अक्टोबर २१ सम्म पुर्याइएको छ ।
उनीहरूविरुद्धको मुद्दाको अनुसन्धान दिल्ली प्रहरीको अपराध शाखाले गरिरहेको छ । दीपकेले दुवै कार्यकर्ता जेलबाट बाहिर आएपछि पनि शान्तिपूर्ण प्रदर्शनलाई निरन्तरता दिने बताएका छन् ।


प्रतिक्रिया