काठमाडौं – आज काठमाडौं उपत्यकासहित देशभरको तापक्रम घटेको छ । मौसम पूर्वानुमान महाशाखाले मंगलबार काठमाडौं उपत्यकाको तापक्रम ५ डिग्री रहेकोमा बुधबार बिहान ३ दशमलव ७ डिग्री सेल्सियसमा झरेको जनाएको छ ।
तापक्रम घट्दा उपत्यकामा साविकभन्दा बढी चिसो महशुस गरिएको छ । आजको तुलनामा भोली झनै चिसो बढ्ने मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए ।
पश्चिमी मौसमी प्रणाली सक्रिय रहेका कारण आजपनि उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना छ । सुदुरपश्चिमका उच्च भूभागमा बढी हिमपात हुने महाशाखाले जनाएको छ ।
तराईका अधिकांश क्षेत्रमा बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लाग्दा जनजीवन प्रभावित बनेको छ । तर यो शीतलहर नभएको उनले बताए । उनका अनुसार लगातार ४८ घन्टासम्म बाक्लो हुस्सु र कुहिरो लाग्नुका साथै न्युनतम तापक्रम ४ देखि ५ डिग्री सेल्सियसमा झरेपछि मात्र तराइमा शीतलहर शुरु हुन्छ ।
यस्ताे छ तीन दिनको मौसम
पौष २ गते (बुधबार)
दिउँसो: देशको पूर्वी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
राती: देशको पूर्वी र पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
पौष ३ गते (बिहीबार)
दिउँसो: देशको पश्चिमि भु-भाग लगायत पूर्वी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
राती: देशभर आंशिक बदली रहनेछ।
पौष ४ गते (शुक्रबार)
दिउँसो: देशको पश्चिमि र मध्य भु-भाग लगायत पूर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य वदली रही बाँकी भू-भागमा आंशिक वदली रहनेछ। साथै पश्चिम भेगका एक दुइ स्थान मा हल्का वर्षा हुने सम्भावना छ ।
राती: देशभर आंशिक देखि सामान्य वदली रहने छ । साथै पश्चिम भेगका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।




प्रतिक्रिया