चिसो बढेपछि पूर्वी नवलपरासीको जनजीवन प्रभावित


नवलपुर – पूर्वी नवलपरासीमा विगत केही दिनदेखि चिसो ह्वात्तै बढेको छ । बिहान बाक्लो हुस्सुसँगै दिनभरि कुहिरो लाग्न थालेको छ । दिनभरि घाम नलागेपछि बढ्दो चिसोका कारण जनजीवन प्रभावित बनेको छ ।

कुहिरोसँगै चल्ने चिसो हावाले बिहान स्थानीयवासी घर बाहिर निस्कन समस्यामा परेका छन् । बजारमा चलहपहल कम भएको छ । वृद्धवृद्धा तथा बालबालिका सडकमा देखिँदैनन् । सधैँजसो भीडभाड हुने सरकारी कार्यालयमा पनि चिसोका कारण सेवाग्राही पातलिएका छन् । बिहानै खुल्ने पसल र बजार पनि ढिलो गरी खुलिरहेका कावासोतीका व्यवसायी नारायणपसाद भुर्तेलले बताए ।

साँझपख पनि चिसो झनै बढ्न थालेपछि बजार संसाँझै सुनसान हुन थालेका छन् । यद्यपि न्यानो कपडाका पसलमा भने ग्राहकको भीड बढेको उनले जानकारी दिए । सडकपेटीमा कपडाको व्यापार बढेको देखिन्छ । उनका अनुसार स्थानीयवासीले न्याना लुगा जोहो गर्न थालेका छन् ।

बाक्लो हुस्सु र शीतका कारण पूर्व–पश्चिम राजमार्गमा यातायात सञ्चालन पनि प्रभावित भएको छ । कठ्याङ्ग्रिँदो चिसोसँगै बाक्लो हुस्सु लाग्दा सवारीसाधनको आवागमनमा असर परेको छ । बाक्लो हुस्सुले गर्दा बिहान १० मिटरभन्दा पर देख्न नसकिँने नारायाणघाट–कावासोती रुटमा चल्ने बसका चालक मनोज महतोले बताए । यसले गर्दा दुर्घटनाको जोखिम बढेको उनको भनाइ छ ।

चिसोकै कारण जिल्लामा बिरामीसमेत बढेका छन् । चिसोसँगै दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायत रोगका बिरामी बढेका छन् । एकाएक बढेको चिसोसँगै बिरामीको सङ्ख्या ह्वात्तै बढेको मध्यविन्दु जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेट डा जितेन्द्र कँडेलले बताए । बालबालिका, वृद्धवृद्धा, मुटु, मिर्गौला, मधुमेह तथा अन्य दीर्घरोगी चिसोले थप जोखिममा भएकाले यो मौसममा उनीहरूले विशेष ख्याल गर्नु पर्ने उनको सुझाव छ ।

रातिको तापक्रम पाँच डिग्री सेल्सियसभन्दा तल झरेको छ । लामो समयसम्म हुस्सु र कुहिरो लागेर धेरै चिसो भइरहँदा ओसिलो जग्गामा गरिएको आलु, गोलभेँडालगायतको बालीमा चिसोको सङ्क्रमणको समस्या हुने गरेको कृषि ज्ञान केन्द्र पूर्वी नवलपरासीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement