कुलिङ पिरियड गडबडी : संसदीय छानबिन समितिको म्याद ७ दिन थपियो

कुलिङ पिरियड गडबडी : संसदीय छानबिन समितिको म्याद ७ दिन थपियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रतिनिधिसभाको बैठकले संघीय निजामती सेवा विधेयक २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिलाई ७ दिन म्याद थप गर्ने घोषणा गरेको छ ।

शुक्रबार बसेको बैठकले उक्त म्याद थप सम्बन्धी प्रस्तावलाई सभाले सहमति जनाएको घोषणा सभामुख देवराज घिमिरेले जानकारी दिएका छन् ।

उनले भने, ‘संघीय निजामती सेवा विधेयक २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिबाट ७ दिनको कार्यावधि थप गर्न माग भई आएकोले उक्त समितिको समयावधि ७ दिन थप गर्न सभाको सहमतीको लागि प्रस्ताव गर्दछु । म्याद थप सम्बन्धी प्रस्तावलाई सभाले सहमति जनाएको घोषणा गर्दछु ।’

गत असार २३ गते प्रतिनिधि सभाले निजामती सेवा विधेयकमा व्यवस्था भएको कुलिङ पिरियडबारे हेरफेरका सन्दर्भलाई लिएर संसदीय छानबिन समिति गठन गरेको थियो ।

समितिमा नेपाली कांग्रेसका सांसदहरू जीवन परियार र सुशीला थिङ,नेकपा (एमाले) बाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य,नेकपा माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य छन् ।

समिति गठन हुँदा सभामुख देवराज घिमिरेको २१ दिनको समय दिएका थिए । उक्त समय यअी साउन ११ गते सकिँदैछ ।