इम्बार्क कलेजको नयाँ वर्क–स्टडी पहलले रोजगारीसँगै उद्यमशीलता

इम्बार्क कलेजको नयाँ वर्क–स्टडी पहलले रोजगारीसँगै उद्यमशीलता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा व्यावसायिक शिक्षा र रोजगारीबीचको खाडल कम गर्ने उद्देश्यसहित ललितपुरको पुल्चोकस्थित इम्बार्क कलेजले २ महत्त्वपूर्ण कार्यक्रमको शुभारम्भ गरेको छ ।

कलेजले ‘व्यावहारिक सीप तालिम (अप्रेन्टिसशिप) कार्यक्रम’ र ‘नवप्रवर्तन (स्टार्टअप) क्षमता विकास कार्यक्रम’ सार्वजनिक गरेको छ ।

कलेजका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत आशिष ठाकुरका अनुसार यी कार्यक्रमहरूले स्नातक शिक्षापछि व्यावसायिक जीवनमा प्रवेश गर्दा विद्यार्थीहरूलाई हुने अनिश्चिततालाई अन्त्य गर्दै करियर–रेडी शिक्षाको नयाँ मापदण्ड स्थापित गर्नेछन् ।

उनले भने, ‘हामीले व्यावसायिक शिक्षालाई प्रत्यक्ष उद्योगसँग जोडेर स्नातकहरूलाई रोजगारीमैत्री बनाउन नयाँ ढाँचा प्रस्तुत गरेका छौं ।’

अप्रेन्टिससिप कार्यक्रमले नेपालका प्रमुख र नवोदित उद्योग तथा उद्यमसँग सहकार्य गरी योग्य स्नातकहरूलाई रोजगारी उपलब्ध गराउनेछ । सहभागी कम्पनीहरूले संरचित तालिम आवश्यकताको मूल्यांकन (टीएनए) अनुसार रोजगारीका अवसर प्रदान गर्ने व्यवस्था मिलाइनेछ । यसमा पूर्वनियोजित संरचना, व्यावसायिक परामर्श, नियमित मूल्यांकन र दीर्घकालीन साझेदारी सम्झौता समावेश गरिएका छन्, जसले उद्योगलाई दक्ष जनशक्ति उपलब्ध गराउँछ भने विद्यार्थीलाई सुनिश्चित करियर मार्गदर्शन प्रदान गर्नेछ ।

स्टार्टअप क्षमता विकास कार्यक्रमले कानूनी रूपमा दर्ता भई १० वर्षभन्दा कम समयदेखि सञ्चालनमा रहेका र वार्षिक कारोबार १५ करोड रुपैयाँभन्दा कम भएका नवप्रवर्तन व्यवसायलाई लक्षित गरेको छ । कार्यक्रम नेपाल सरकारको राष्ट्रिय स्टार्टअप नीति २०८० र औद्योगिक उद्यम ऐन २०७६ सँग मेल खाने गरी अघि बढाइनेछ । नवप्रवर्तनशीलता, मापनयोग्यता र बजार प्रभाव भएका व्यवसायलाई प्राथमिकतामा राखिने जनाइएको छ ।

सीईओ ठाकुरले नेपालमा उद्यमशीलताको अपार सम्भावना रहेको तर रणनीतिक स्रोतसम्मको पहुँच सीमित भएकाले कार्यक्रमले नवप्रवर्तनलाई दीगो व्यवसायमा रूपान्तरण गर्न टेवा पुर्‍याउने बताए ।

इम्बार्क कलेजले ल्याएका यी २ कार्यक्रमहरू सरकारको नीतिअनुरूप समृद्ध उद्यमशील पारिस्थितिक तन्त्र निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । अप्रेन्टिससिप कार्यक्रम उद्योगका लागि दक्ष जनशक्ति र विद्यार्थीका लागि सुनिश्चित रोजगारीमा केन्द्रित रहनेछ भने स्टार्टअप कार्यक्रम आयातमा निर्भरता घटाउँदै स्वदेशी नवप्रवर्तन र प्रविधि क्षमताको विकासमा जोड दिनेछ ।

आवेदन प्रक्रियाअनुसार अप्रेन्टिससिप कार्यक्रममा सहभागी हुन इच्छुकले सीप मूल्यांकन, इम्बार्क कलेजको प्रमाणीकृत शैक्षिक तथा सीपमूलक कागजात र संरचित अन्तर्वार्तामार्फत व्यावसायिक मूल्यांकन पूरा गर्नुपर्नेछ । स्टार्टअप कार्यक्रमका लागि भने कानूनी दर्ता प्रमाणपत्र, वित्तीय विवरण, नवप्रवर्तन दर्शाउने व्यवसाय योजना र परीक्षण समीक्षा (ड्यु डिलिजेन्स) आवश्यक पर्नेछ ।

अन्तर्राष्ट्रिय व्यवसाय शिक्षामा अग्रणी इम्बार्क कलेजले बीएससी बिजनेस म्यानेजमेन्ट, एमबीए र एसीसीएजस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ । कलेजको प्रमुख उद्देश्य नेपालमा आर्थिक विकास र नवप्रवर्तनलाई अघि बढाउने व्यवसायिक नेतृत्व उत्पादन गर्नु रहेको जनाइएको छ ।