प्रधानमन्त्रीको चीन भ्रमणको प्रगती:कार्तिकभित्र तातोपानी नाका खुलाउन चिनियां पक्ष सहमत


काठमाडौं– नेपाल–तीब्बत व्यापार सहजीकरण समितिको बैठक विहिवारबाट काठमाडौंमा सुरु भएको छ । वैठकमा केरुङ र तातोपानी नाका खुलाउने विषयमा समेत छलफल भएको छ । वैठकमा सहभागी एक उच्च अधिकारीकाअनुसार आगामी सेप्टेम्बरदेखि तातोपानी नाका खोल्न चिनिया पक्ष सहमत भएको छ ।

नेपाल–तीब्बत व्यापार सहजीकरण समितिको ८ औं बैठकमा नेपाली पक्षको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैंजुले गरेका छन् भने चिनियां पक्षको नेतृत्व तिव्वत सरकारका डेपुटी सेक्रेटरी जनरल लिउले गरेका छन् ।

बैठकमा मुस्ताङको बोर्डर पोइन्ट अपग्रेट गर्ने,क्रस बोर्डर इकोनोमिक जोन निर्माणको लागी टिम बनाएर काम अघि बढाउने र चिनियां वैंकको शाखा खोल्ने विषयमा समेत छलफल भइरहेको छ । चिनियां पक्षले नेपालको संरचना तयार हुने हो भने आफुहरु प्रक्रिया अघि बढाउन तयार रहेको जानकारी नेपाली पक्षलाई दिएका छन् ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैंजुले वैठकमा तातोपानी नाका आगामी कार्तिक भित्र खुलाई सक्ने गरी आवश्यक पूर्वाधार निर्माणको कामलाई अघि बढाउने विषयमा छलफल भएको जानकारी दिए । उनकाअनुसार केरुङ र तातोपानी नाकामा चीनको आर्थिक सहयोगमा निर्माण हुने पुल छिटो सम्पन्न गर्न आवश्यक कार्ययोजना पनि वैठकले तय गर्नेछ ।

दुई दिनसम्म चल्ने बैठकमा नेपाल–चीनबीच हुने व्यापारलाई सहज बनाउने विषयमा समेत छलफल भइरहेको छ । नेपाल र चीनबीचको व्यापार सहजीकरणका लागि सन् २००९ मा यो समिति गठन भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement