काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।
फागुन २३ गते बस्ने पुनर्स्थापित प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गर्न देउवाले बुढानिलकण्ठमा दिउँसो ३ बजे पदाधिकारी बैठक बोलाएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनले बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, संसद् र संसदीय दलमा के एजेण्डा लिएर जाने भन्ने विषयमा छलफल केन्द्रित हुने बताए । संसदमा पार्टीले निर्वाह गर्ने भूमिकाबारे छलफल गर्न शुक्रबार कांग्रेस संसदीय दलको बैठक बोलाइएको छ ।
बुधबार कांग्रेसले जुनसुकै बेला उपलब्ध हुनुपर्ने भन्दै सांसदहरूलाई काठमाण्डुमै रहन निर्देशन दिएको थियो । कांग्रेस संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाँडले अनौपचारिक रुपमै काठमाण्डु बाहिर नजान र नगइ हुने अवस्था भए परामर्श गर्न सांसदहरुलाई खबर गरेका हुन् ।
सरकारमा जाने कि नजाने भनेर कांग्रेसमा दुई धार देखिएको छ । पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले एकै मञ्चबाट फरक–फरक धारणा व्यक्त गर्दै आइरहेका छन् । सभापति देउवा सरकारको नेतृत्व गर्नुपर्ने अवस्थामा त्यसबाट भाग्न नहुने पक्षमा देखिएका छन् भने वरिष्ठ नेता पौडेल प्रतिपक्षमै रहेर अगाडि बढ्नुपर्ने पक्षमा देखिएका छन् ।




प्रतिक्रिया