काठमाण्डु – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लामा आज अधिवेशन हुँदैछ । एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका ४२ जिल्लामा मंसिर १० गते जिल्ला अधिवेशन गर्ने महाधिवेशन कार्यतालिमा उल्लेख भए अनुसार आज अधिवेसन हुन लागेको हो ।
प्रदेश दुईका आठ जिल्लाबाहेक बाँकीमा आजदेखि नै जिल्ला अधिवेशन सुरु हुने निर्वाचन समितिले जनाएको छ । एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा यसअघि नै जिल्ला अधिवेशन सुरु भइसकेको छ । चितवनमा भने एमाले महाधिवेशनका कारण कांग्रेसले जिल्ला अधिवेशन सारेको छ । कांग्रेसको अहिलेसम्म ३० जिल्लामा अधिवेशन सम्पन्न भएको छ ।
अहिलेसम्म अधिवेशन सम्पन्न भएको जिल्लाबाट आएको परिणाम अनुसार सभापति शेरबहादुर देउवा पक्षले १५ जिल्ला सभापति जितेको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले १४ जिल्ला सभापति जितेको छ । कांग्रेसको विधानअनुसार पार्टीका जिल्ला कार्यसमितिमा सभापति, दुई जना उपसभापति दुई जना सचिव र दुई जना सहसचिव निर्वाचित हुने प्रावधान छ ।
जिल्ला कार्यसमितिका सबै पदाधिकारी निर्वाचनको माध्यमबाट चुनिने व्यवस्था छ । कोषाध्यक्ष भने पार्टीको जिल्ला सभापतिले निर्वाचित सदस्यमध्येबाट मनोनित गर्ने प्रावधान छ ।




प्रतिक्रिया