पौडेल, सिटौलासहित ४ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने देउवाको तयारी

पौडेल, सिटौलासहित ४ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने देउवाको तयारी


काठमाण्डु – नेपाली काँग्रेसको १४औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ११ बजेदेखि निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई ‘निर्वाचित भएको प्रमाण पत्र’ वितरण कार्यक्रम रहेको र त्यसपछि दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

त्यस्तै सभापति शेरबहादुर देउवाले रामचन्द्र पौडेलसहित चारजना नेतालाई पार्टीको केन्द्रीय सदस्यमा मनोनित गर्ने तयारी गरेका छन् । बैठकमा पौडेलसहित कृष्णप्रसाद सिटौला, प्रकाशमान श्रेष्ठ र विमलेन्द्र निधिलाई मनोनित गरिने प्रस्ताव पेस गरिने स्रोतले बतायो ।

पौडेलले हालै सम्पन्न पार्टीको १४ औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा भाग लिएका थिएनन् भने सिटौला उम्मेदवार बनेनन् । श्रेष्ठ र निधि भने सभापतिको पदको उम्मेदवार रहेका थिए । पहिलो चरणको निर्वाचनमै पराजित उनीहरुले दोस्रो चरणमा सभापति देउवालाई समर्थन जनाएका थिए ।

गत मङ्सिर २४ देखि २८ गतेसम्म काठमाण्डुमा सम्पन्न महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट केन्द्रीय कार्यसमितिका १३४ पदाधिकारी र सदस्य निर्वाचित भएका छन् । कांग्रेसको प्रावधानअनुसार अब सभापति देउवाले कोषाध्यक्षसहित ३३ जना ममोनित गर्नेछन् ।