काठमाण्डु – प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । कांग्रेसले भोलि मंगलबार बिहान ९ बजेका लागि नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बैठक बोलाएको हो ।
बैठकमा प्रधानन्यायाधीशमाथिको महाअभियोगपछिको उत्पन्न राजनीतिक घटनाक्रम, एमसीसी, संसद बैठकमा एमालेको जारी अवरोधलगायतका विषयमा छलफल हुने बताइएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पनि संसदीय दलको बैठक अहिले जारी छ ।
इतबार नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका ९८ जना सांसदले प्रधानन्यायाधीशविरुद्ध संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए । तर, महाभियोग प्रस्ताव पारित गर्न गठबन्धनलाई दुई तिहाई मत आवश्यक पर्छ ।
सत्ता गठबन्धनसँग दुई तिहाई मत नरहेकाले दलहरु आन्तरिक छलफलमा जुटेका हुन् । उक्त प्रस्ताव दर्तापछि नेपाली राजनीतिमा तरंग पैदा भएको छ । छापामार शैलीमा आएको उक्त महाधिवेशन प्रस्तावलाई एमालेको सचिवालय बैठकले प्रतिवाद गर्ने निर्णय गरेको छ ।




प्रतिक्रिया