कांग्रेसमा महाधिवेशनको संकेत : फागुनमै हुने सम्भावना कति ?

कांग्रेसमा महाधिवेशनको संकेत : फागुनमै हुने सम्भावना कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पार्टीमा आन्तरिक लोकतन्त्र नभएको र समयमै महाधिवेशन नहुने आशंकाबीच महाधिवेशन प्रक्रिया अगाडि बढेको छ ।

पार्टी केन्द्रीय समिति बैठकमा महाधिवेशनबारे प्रस्ताव पेश गरिएको छ । आईतबारदेखि शुरू भएको बैंठकमा १४ औं महाधिवेशनको प्रक्रियाबारे प्रस्ताव पेश गरिएको छ । प्रस्तावमाथि छलफल भएर आवश्यक निर्णय हुनेछ ।

सभापति शेरबहादुर देउवा निर्वा्चित भएको चार वर्ष आगामी फागुनमा पुग्दैछ । कांग्रेसको विधान अनुसार चार वर्षमा महाधिवेशन भएर नयाँ नेतृत्व चयन हुनुपर्छ । तर नेपाली कांग्रेसमा संघीयता कार्यान्वयनमा गइसकेपछि आन्तरिक संरचना निर्माण भइसकेका छैनन् । वडा, स्थानीय तह, प्रदेशका संरचना नबनिसकेकाले कांग्रेसलाई अहिलेकै अवस्थामा महाधिवेशन गर्न सहज छैन ।

महाधिवेशन गर्न राज्यका संरचनाअनुसार संगठन र समिति चाहिन्छ । तसर्थ कांग्रेसले सर्वप्रथम अन्तरिम संरचना निर्माण गर्नुपर्ने छ । कांग्रेसमा यसअघि भएको महाधिवेशनबाट पूरानै संरचना अनुसार समिति चयन भएका थिए । त्यसपछि भएको राज्यको पुनर्संरचना अनुसार वडा, स्थानीय तहको सीमाना नै फेरबदल भएको छ ।

आईतबारदेखि शुरू भएको केन्द्रीय समिति बैठकले महाधिवेशन लगायत एजेन्डा तय गरेको छ । आगामी बैठक असार २७ गतेका लागि तोकिएको छ । बैठकले अन्तरिम संरचना र महाधिवेशनबारे निर्णय लिनेछ । बैठकमा १४ वटा एजेन्डा प्रस्तुत गरिएका छन् ।

महाधिवेशनको रस्साकस्सी

केन्द्रीय समिति बैठकमा महाधिवेशनको एजेन्डा पूर्व्निर्धा्रित थिएन । महाधिवेशन सार्ने षड्यन्त्र भइरहेको आशंकाबीच रामचन्द्र पौडेल पक्षले बैठकको शुरूमै महाधिवेशनको एजेन्डा राख्नुपर्ने र नराखे बैठक बहिष्कार गर्ने चेतावनी दियो । लामो रस्सीकस्सीपछि महाधिवेशनको एजेन्डा बैठकमा राख्ने सहमति भयो ।

पार्टी विधानको धारा ७२ (४) मा पार्टीको अन्तरिम संरचना बनाउने व्यवस्था गरिएको छ । संरचना बनेपछि महाधिवेशन कार्यतालिकालाई केन्द्रीय समिति बैठकबाट पारित गरेपछि कांग्रेस महाधिवेशनमा होमिने देखिएको छ । सभापति देउवाइतरका नेता कार्यकर्ताले अझै पनि समयमै महाधिवेशन हुनेमा शंका गरिरहेका छन् । केन्द्रीय सदस्य शेखर कोइरालाले खुलेरै देउवामाथि दबाब खडा गरिरहेका छन् ।

सभापति देउवाले अवस्था आफ्नो प्रतिकूल रहेको, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पराजित भएको अवस्थामा कार्यकाल लम्ब्याउन चाहेका छन् । विधान अनुसार विशेष परिस्थितिमा ६र६ महिना गरी १ वर्षसम्म कार्यकाल लम्ब्याउन सकिने व्यवस्था छ । देउवाले त्यसै प्रावधानलाई टेकेर कार्यकाल लम्ब्याउन सक्ने आशंका असन्तुष्ट खेमाको रहेको छ ।

कांग्रेसले कमजोर अवस्थालाई सुधार्न जागरण अभियान समेत सञ्चालन गरेको थियो । आगामी महाधिवेशनबाट आउने नेतृत्वका अनुसारमा आगामी निर्वाचनको नतिजा र कांग्रेसको भविष्य निर्धारण हुने देखिएको छ । कांग्रेसले गति लिने कि झन् अवस्था बिग्रिने भन्ने विषय आगामी नेतृत्वको कार्यशैलीले निर्धारण गर्नेछ । देउवाले टिकट वितरणदेखि जिम्मेवारी बाँडफाँडसम्म गडबडी गरेका कारण कांग्रेसले निर्वाचन हार्नुपरेको आरोप लाग्ने गरेको छ ।

महाधिवेशन प्रस्तावका विषयमा देउवा, पौडेल र कोइराला समूहबीच सहमति भएपछि केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले १४ वटा एजेण्डा प्रस्तुत गरेका छन् । नियमावली प्रस्तुत गर्ने, अन्तरिम संरचना गठनपश्चात् १४ औं महाधिवेशनको कार्यतालिका निर्माण गरेर प्रक्रिया थाल्ने, क्रियाशील सदस्यता नवीकरण, राष्ट्रिय जागरण अभियानको प्रतिवेदन, प्रशिक्षण प्रतिष्ठान र अनुशासन समितिको प्रगति विवरण, भातृ तथा शुभेच्छुक संगठनको विधान संशोधन र मान्यता प्रदान, कार्यकाल सकिएका भाृत संगठन, जनसम्पर्क समिति लगायत विषय पनि बैठकका एजेन्डा बनेका छन् । बैठकमा संयोजक रमेश लेखकले नियमावलीको मस्यौदा प्रस्तुत गरेका छन् । बैठकमा छलफल र आवश्यक परिमार्जनपछि नियमावली पारित हुनेछ ।