काठमाण्डु- नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । सभापति देउवा भारी मतान्तरका साथ पार्टीको संसदीय दलको नेतामा निर्वाचित भएका हुन् ।
देउवासँग चुनावी मैदानमा होमिएका नेपाली कांग्रेसका महामन्त्री तथा युवा नेता गगन थापा भने पराजित भए । बुधबार भएको कांग्रेस संसदीय दलको चुनावमा देउवा र थापाबीच रोचक प्रतिस्पर्धा नै भएन । देउवाले ६४ मत पाउँदा गगन थापाले जम्मा २५ मत मात्रै पाए । देउवासँग थापा ३९ मतान्तरले पराजित भए ।
यस निर्वाचनमा देउवालाई बुढा सांसदको साथ थियो भने थापालाई युवा सांसदहरुको साथ थियो । देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेलसहित चार नेताले साथ दिए । जसअनुसार देउवाले एक वर्षअघि भएको पार्टीको १४ औँ महाधिवेशनमा आफूसँगै सभापतिमा प्रतिस्पर्धा गरेका प्रकाशमान सिंह र विमलेन्द्र निधिको साथ पाए भने शशाङ्क कोइरालाले पनि देउवालाई नै सघाएको खुलेको छ ।
यसैबीच कुष्ण सिटौला पक्षका प्रदिप पौडेल, शशांक निकट दिपक गिरी तथा प्रकाशमान निकट विश्वप्रकाश शर्मालेसमेत समर्थन गर्दा थापा चुनावमा पराजित हुन पुगे । कांग्रेसमा पुस्तान्तरण हुने र अब युवाले नेतृत्व गर्नुपर्ने भन्दै चुनावमा प्रतिस्पर्धा गरेका थापाले आफ्नै समुहकै सांसदको समर्थन पाउन सकेनन् ।
थापा समूहकै केही सांसदहरुले भने देउवालाई समर्थन गरेको देखिन्छ । निर्वाचनमा कांग्रेसका नवनिर्वाचिन ८९ सांसदले मतदान गरेका थिए । जसमा देउवा अर्थात् संस्थापन समूहका ५९ तथा गगन शेखर समूहका ३१ सांसद सहभागी थिए । नतिजाअनुसार भने थापाले आफ्नै समूहका सांसदहरूको समेत मत नपाएको देखिएको छ ।




प्रतिक्रिया