काठमाण्डु – नेपाली कांग्रेसको केन्द्रिय कार्यसमिति बैठकमा प्रदेशका सभापतिहरुले आफ्नाे भूमीका खोजेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा प्रदेश सभापतिहरुले संघीयताको वकालत गर्ने पार्टीले आफ्नै संगठनमा भने संघीयताको असल अभ्यास गर्न नसकेको गुनासो गरेका हुन् ।
पार्टीमा केन्द्रीय कार्यसमितिले सीधै जिल्ला र पालिका तहसँग काम गर्ने र शासन गर्ने काम गरेको आरोप लागेको छ । मुलुकमा संघीयता व्यवस्थाकै सवालमा प्रश्न उठिरहेका बेला पार्टीभित्र समेत संघीय संरचनालाई सर्वस्वीकार्य गरेर संगठन अघि बढाउन नखोजिएको उनीहरुको आरोप छ ।
बैठकमा लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले मुलुकको संघीय व्यवस्थामै प्रश्न उठिरहेका बेला पार्टीमा समेत त्यसको असल अभ्यास हुन नसकेको बताए। पुनले केन्द्रीय कार्यसमितिमा महामन्त्रीले प्रस्तुत गरेको एक वर्षे क्यालेण्डरमा समेत प्रदेश कार्यसमितिको भूमिकालाई समेटेर कुनै कार्यक्रमहरूको प्रस्ताव नआएको बताए।
‘अहिले संघीयताकै विषयमा प्रश्न उठिरहेको छ । त्यहीअनुसार पार्टीमा पनि यो भएको हो कि भुलवश हो ? प्रदेशलाई अधिकार दिन, भूमिका दिन नचाहेको हो कि विश्वास नभएको हो ?,’ उनले प्रश्न गरे ।
यस्तै गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले प्रदेश कार्यसमितिलाई नसोधीकन केन्द्रले जिल्ला सभापतिको भेला गरेको भन्दै गुनासो गरेका छन्। उनले केन्द्रबाट शासन गर्नुभन्दा संघीयताको मर्मबमोजिम प्रदेशलाई उसको भूमिका दिँदा पार्टी थप बलियो हुनेमा आशाबादी हुनुपर्ने बताए।
शर्माले विधानतः प्रदेश सभापतिहरूलाई केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी गराउने विषयमा समेत विधानमा संशोधन गर्न माग गरे। ‘केन्द्रले सीधै जिल्ला कार्यसमितिसँग काम गरिरहेको छ । त्यस्तो कामको संयोजनमा प्रदेशलाई भूमिका दिइएको भए पनि हुने थियो, तर त्यो भएन,’ उनले भने, ‘७७ जिल्ला सभापतिलाई काठमाडौं बोलाइयो, तर प्रदेश सभापतिहरूलाई थाहै दिइएन । प्रदेशअनुसार जिल्ला सभापतिहरूको संयोजन गरिएको भए राम्रो हुन्थ्यो ।’
मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवले प्रदेशलाई भूमिका दिन नसक्ने भए प्रदेश संरचना हुनुको औचित्य माथि प्रश्न उठ्ने बताए। प्रदेशलाई जिम्मेवारी दिन नमिल्ने हो भने आफूहरुलाई जिल्लामै बसेर काम गर्ने, संगठन गर्ने भूमिका किन नखिदएको भन्दै उनको प्रश्न छ ।
‘सात प्रदेशको संरचना किन बनाइएको हो ? यदि प्रदेशलाई जिम्मेवारी दिन नमिल्ने हो भने हामीलाई जिल्लामै बसेर काम गर्ने, संगठन गर्ने भूमिका नदिएको हो ?,’ उनले भने, ‘केन्द्रले जिल्लासँग काम गर्छ, जिल्लाले केन्द्रसँग सीधै काम गर्छ । हामी बीचमा छौँ, हामी न तल, न माथि भएका छौँ ।’
यस्तै, वाग्मती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले पार्टीले प्रदेशलाई भूमिका नदिएको गुनासो गर्दै प्रदेशलाई अधिकार दिन नसकिने, र चाहिदैन भन्ने निष्कर्ष हो भने संघीयता खारेजीको नेतृत्व समेत पार्टीले नै गर्न सक्नुपर्ने बताए।
‘यदि प्रदेश आवश्यक छैन भने प्रदेश खारेजी गर्ने कामको नेतृत्व गरोस् । होइन भने कांग्रेसको विधानले गरेको व्यवस्थाबमोजिम प्रदेशलाई पनि भूमिका दिइयोस्,’ उनले भने, ‘प्रदेश संरचनामाथि सबैतिर प्रश्न उठिरहेको छ । हाम्रो पार्टीभित्र पनि उही अवस्था छ । यसको समाधानको बाटो खोजियोस् ।’
‘सांसदकाे प्रस्तुती कमजोर’
नेपाली कांग्रेसको संसदमा प्रस्तुति फितलो भएको भन्दै केन्द्रीय समिति बैठकमा चिन्ता व्यक्त गरिएको छ । केन्द्रीय सदस्य तथा सांसद रामहरि खतिवडाले नेतृत्वमा रहेका मुख्य व्यक्तिहरु संसद कम जाने गरेको गुनासो गरे।
प्रत्येक दिन छलफल गरेर संसदमा जाने पार्टीको पद्धति हुने हो भने संसदमा दह्रो रुपमा प्रस्तुत हुन सकिने उनको भनाई छ। कांग्रेस आफू आफू आरोप प्रत्यारोपमा लागेर कमजोर रहेको खतिवडाको ठम्याई छ ।
‘सभापति यदाकदा जाने गर्नुहुन्छ । उपसभापति दुई जना नै मन्त्री हुनुहुन्छ । महामन्त्री छिन छिनमा देखिनुहुन्छ, जानुहुन्छ,’ खतिवडाले भने, ‘प्रतिपक्षले संसद कसरी हल्लाउँछन् देख्नुभाछ?’
उनले थपे,‘आफैभित्र चर्का कुरा गर्छौँ । गुटलाई प्रश्रय दिन्छौं । एकले अर्कोलाई आलोचना गरेर आफू महान बन्न खोज्छौं ।’
बालकृष्ण खाँणको बचाउ
बैठकमा केन्द्रिय सदस्य लक्ष्मी खतिवडाले बालकृष्ण खाँणबारे प्रश्न उठाएकी छिन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँण पक्राउ पर्दा आफ्नै पार्टीका नेताहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर धन्यवाद दिएकोप्रति उनले आलोचना गरिन्।
त्यस्तै अभियोग लागेको अर्को अमूक पार्टीको नेताका बारेमा भने उनीहरु नबोलेको खतिवडाको दाबी छ । पार्टीभित्रको फरक समूहको नेता भएका कारणले गृहमन्त्रीलाई धन्यवाद दिन गएको हुनसक्ने उनको बुझाई छ।
उनले भनिन्,’कांग्रेस न्यायिक सर्वोच्चता मान्छ। कांग्रेसका हरेक कार्यकर्ता कानूनी राज्यको पक्षमा उभिनुपर्छ । तर, कांग्रेसको एउटा नेता कुनै अभियोग लागेर समातिँदै गर्दा कांग्रेसका केन्द्रीय सदस्य तथा नेताहरु गृहमन्त्रीकहाँ धन्यवाद दिन पुग्नुहुन्छ । किन धन्यवाद दिन पुग्नुभयो ? थाहा छैन । के कारणले पुग्नुभयो, थाहा छैन ।’
उनले अगाडी थपिन्,’त्यस्तो अभियोग लागेको अमुख पार्टीको नेताका बारेमा प्रश्न उठ्दा उहाँहरु केही बोल्नुहुन्न उहाँहरुको मुख फुट्दैन। बोली फुट्दैन । लागेको होला उहाँहरुलाई कुनै एउटा फरक विचार समूहको फरक गुटको मान्छेलाई खुइल्याउनको लागि डेक्ची बसाको तातोपानी आफूलाई मन परेको मान्छेतिर पनि खनिनसक्छ त्यो पनि विचार पुर्याउनुहोला ।’
केन्द्रीय सदस्य राधा घलेले आरोप प्रमाणित नभएसम्म कसैलाई पनि दोषी करार गर्न नमिल्ने बताएउदै आफ्नो नेताको बचाउमा उत्रेर साथ दिनुपर्नेमा पार्टीका नेताहरू विरोधमा उत्रिएको भन्दै गुनासो गरिन्।
उनले अरुलाई खाएको बाघले आफूलाई पनि खान्छ भन्ने बुझ्नु आवश्यक रहेको समेत बताइन्।’एउटा साथीलाई दु:ख पर्दा काँध हाल्न सक्दैनौं ? आरोप लाग्दैमा कोही पनि दोषी हुँदैन,’ उनले भनिन्, ‘जबसम्म दोषी सावित हुँदैन, कमसेकम एउटालाई पर्दा हामीभित्रै साथीहरूले साथ दिँदैनौं भने एउटालाई खाने बाघलाई अरुलाई पनि खान्छ ।’




प्रतिक्रिया