कोशीमा कांग्रेसभित्र खैलाखैला ! उपनेता हिमाल कार्कीले दिए राजीनामा


विराटनगर – कोशी प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीले पदबाट राजीनामा दिएका छन् ।

सत्तारुढ गठबन्धनको निर्णय विपरीत कांग्रेसका प्रदेशसभा सदस्य केदार कार्कीले नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री पदमा दाबी पेश गरेकै दिन उपनेता कार्कीले पनि राजीनामा दिएका छन् ।

संसदीय दलका नेता उद्धव थापालाई सम्बोधन गरेर लेखिएको राजीनामा कार्कीले उपनेताको जिम्मेवारी सम्हाल्न नसक्ने जनाएका छन् ।

उनले प्रदेशसभा सदस्यको जिम्मेवारी सक्रियतापूवर्क निर्वाह गर्ने बताएका छन् ।

कोशीको मुख्यमन्त्रीमा कार्की पनि आकांक्षी थिए । तर सत्तारुढ गठबन्धनले माओवादी केन्द्रका संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ ।

सत्तारुढ गठबन्धनको समर्थनमा आङ्बोले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष मुख्यमन्त्रीको दाबी पेश गरेका छन् । तर कांग्रेसका ८ सांसदसहित नेकपा एमालेको समर्थनमा कांग्रेसका केदार कार्कीले पनि दाबी पेश गरेका छन् । कार्कीलाई कांग्रेसका ८ र एमालेका ३९ जना गरी ४७ प्रदेशसभा सदस्यको समर्थन छ । प्रदेश सभामा ४७ सांसदको समर्थन भएमा बहुमत पुग्छ ।

कांग्रेस नेता कार्कीले एमालेसँग मिलेर दाबी पेश गरेको र कांग्रेसले माओवादीका आङ्बोलाई समर्थन गरेको अवस्थामा कांग्रेसभित्र खैलाबैला मच्चिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement