काठमाण्डु- राष्ट्रियसभाको निर्वाचन अन्तर्गत नेपाली कांग्रेसले उम्मेदवार टुङ्गो लगाएको छ । गठबन्धनबाट आफ्नो भागमा परेकाे १० सिटका लागि कांग्रेसले उम्मेदवारको टुङ्गो लगाएको हो ।
कांग्रेसइत्तर समूहले १० सिटमध्ये आफूलाई ४ सिट दिनुपर्ने भन्दै अडान लिएपनि अन्ततः ३ सिटमा चित्त बुझाए पछि उम्मेदवारको टुङ्गोे लगाएको छ ।
इत्तर समूहका नेता डा. शेखर कोइराला र महामन्त्री गगनकुमार थापाले सम्मानजनक प्रतिनिधित्व नभए फरक मत राख्नेसमेत तयारी गरेका थिए । आइतबार विहान गठबन्धन दलले भागबण्डा टुङ्ग्याएसँगै कांग्रेसले उम्मेदवार चयनका लागि बैठक सुरु गरेपनि अन्ततः आज विहानमात्रै उम्मेदवार फाइनल गर्न सक्यो ।
लामो छलफल र विवादबीच उम्मेदवार चयन गरेको कांग्रेसले कोशीमा कृष्णप्रसाद सिटौला र मधेशमा आनन्द ढुङ्गाना, बाग्मतीमा जितजंग बस्नेत र विष्णुदेवी पुडासैनी, गण्डकीमा किरणबाबु श्रेष्ठ र पदमबहादुर परियार तथा लुम्बिनीमा विष्णुकुमारी सापकोटा, कर्णालीमा कृष्णबहादुर रोकाया, सुदूरपश्चिममा बलदेव बोहरा र नारायणदत्त भट्टलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । इत्तर समूहबाट लुम्बिनीमा सापकोटा, गण्डकीमा श्रेष्ठ र परियारलाई उम्मेदवार बनाइएको हो ।
राष्ट्रियसभा उम्मेदवार चयनप्रति महामन्त्रीद्वयको विमति
राष्ट्रियसभा निर्वाचनका उम्मेदवार छनोटमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापाले विमति जनाएका छन् । कांग्रेस संसदीय बोर्डले राष्ट्रियसभा निर्वाचनका सत्ता गठबन्धनबाट आफ्नो भागमा परेकाे १० सिटको बाँडफाँट गरेसँगै महामन्त्रीद्वय: शर्मा र थापाले भने आपत्ती जनाएका हुन् ।
पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको निर्णय हप्ता दिनमै रद्दिको टोकरीमा फालेको भन्दै सो निर्णयप्रति महामन्त्री द्वयले विमति जनाएका हुन् ।
कांगेसले पाएको दशमध्ये गगन-शेखर समूहले ४ सीट मागेकोमा ३ पाएको हो। आइतबार मध्यरातसम्म लगाएर टुङ्याएको उमेदवारमा दुई महामन्त्री थापा र शर्माले आपत्ति जनाएका हुन्। उनीहरूले बैठकमै कुरा राखेका थिए। गगनले लिखित र विश्पप्रकाशनले मौखिक रुपमा विमति जनाएको हो ।
उम्मेदवार चयनमा महामन्त्री शर्माको फरक मत:
१) उम्मेदवार चयनको समग्र सन्दर्भमा शभापतिको कार्यशैलीसँग प्रष्ट असहमत ।
२) संसदीय बोर्डलाई पूर्णता नदिएर हामी पदाधिकारीले मात्रै निर्णय गर्ने भए विधानमा किन राखेको ?
३) राष्ट्रियसभाको विशिष्टता बढाउने कर्तव्य दलहरूकै होइन र ? कांग्रेसले यो हेक्का राख्नुपर्छ कि पर्दैन ?
४) समावेशीताको सिद्धान्त विधानमा कि व्यवहारमा ?
५) नेतृत्वले फरक विचार समूह गाँस्ने कि एक्लै बढ्ने ? फरक विचार समूहले भाग मात्र लिने कि न्यायोचित प्रतिनिधित्व खोज्ने ?
६) राष्ट्रियसभाकै नेतृत्व गर्नेगरी अपवाद स्वीकार्य, अन्य सोझै र प्रष्ट अस्वीकार्य l योगदान र योग्यता बोकेका सयौं साथी हुनुन्छ, जिम्मेवारीको अवसर न्यायोचित हुनुपर्छ ।
उम्मेदवार चयनमा थापाको द्वयको फरक मत:
१. हाम्रो संविधानले राष्ट्रियसभामा खासगरी प्रतिनिधिसभामा प्रतिनिधित्व हुन नसकेमा जाती, वर्ग र क्षेत्रको प्रतिनिधित्व र राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याएका एवम् विज्ञ व्यक्तिहरूको उपस्थितिको परिकल्पना गरेको छ । यसैगरी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको पौष १२-१४ गतेसम्म बसेको बैठकले राष्ट्रियसभाको उम्मेदवार चयन सम्बन्धमा ‘हालसम्म कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट बञ्चित भएका योग्य तथा लोकप्रिय ब्यक्तिलाई प्राथमिकता दिने’ लगायत को मापदण्ड तय गरेको थियो। संसदीय बोर्डको आजको बैठकले उम्मेदवारको चयन गर्दा माथि उल्लेखित पक्षमा यथेष्ट ध्यान पुर्याउन सकेन।
२. यो निर्णयले पार्टीमा कुनै पनि आग्रह नराखिकन निर्णय हुन्छ । सबै तह र तप्काका साथीहरूलाई समान ढङ्गले न्यायको अनुभूति र अवसरमा स्थान हुन्छ भन्ने विश्वासलाई पुन:एक पट्क खण्डित गरेको छ । यस्तो आग्रहपूर्ण निर्णयले पार्टीभित्रको लोकतन्त्रलाई समेत थप कमजोर बनाउँछ ।




प्रतिक्रिया